अध्ययनले देखायो: एक अण्डा उत्पादन खर्च रु १९.२०

चितवन : अण्डाको लागत मूल्य निरन्तर बढिरहेको छ। पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाएर निकालेको ताजा प्रतिवेदनअनुसार यसअघिको लागत मूल्यभन्दा उच्च लागत देखिएको हो।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले एक गोटा अण्डाको लागत मूल्य रु १९.२० पर्न आएको छ। विगतमा यो लागत रु १६.५६ थियो। तीन वर्षअघि सरकारी तथा निजी क्षेत्रका भेटेरिनरी चिकित्सकहरुले संयुक्त रूपमा लागत मूल्य निर्धारण गरेका थिए।

डा. दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी उत्पादन हुने अण्डाको लागत अध्ययन गरिएको हो। यसअनुसार चल्ला खरिद, दाना, औषधि, भ्याक्सिनलगायतका शीर्षकमा ठूलो खर्च देखिएको छ।

चल्लाको मूल्य प्रतिगोटा रु १५० का दरले रु १५ लाख, तीन प्रकारका दाना, औषधि तथा भ्याक्सिनका शीर्षकमा रु ३ करोड ४८ लाख ८८ हजार ८०० खर्च परेको छ। चल्लालाई सुरुमा खुवाइने ‘एल–वान’ दाना प्रति चल्ला २ किलो (प्रतिकिलो रु ६८), हुर्काउने चरणको ‘एल–टु’ दाना ६ किलो (प्रतिकिलो रु ६१), र अण्डा उत्पादन अवधिका लागि ‘एल–थ्री’ दाना ४८ किलो (प्रतिकिलो रु ६०.५०) राखिएको छ। औषधि तथा भ्याक्सिनमा मात्र रु ११ लाख खर्च देखिएको छ।

त्यसैगरी मजदुर, भेटेरिनरी सेवाको आंशिक खर्च, व्यवस्थापक, विद्युत, धानको भूसी, खोर मर्मत, त्रिपाल, चल्ला तातो बनाउने ग्यास, अण्डा क्रेट र डिजेल शीर्षकमा रु ६० लाख ५८ हजार ६९६ खर्च भएको समितिले जनाएको छ।

अण्डा ढुवानी मजदुरी, ढुवानी सवारी, खोरको ह्रासकट्टी, मजदुर आवासको ह्रासकट्टी र बैंक व्याजमा रु ८० लाख १२ हजार २५० खर्च हुन्छ।

यी सबै खर्च जोड्दा १० हजार कुखुराबाट अण्डा उत्पादन गर्न कुल लागत रु ४ करोड ९८ लाख ५९ हजार पुग्ने डा. दाहाल बताउँछन्। “सुरुदेखि बजारसम्म पु¥याउन लाग्ने सबै खर्च जोडेर नै लागत मूल्य निकालिएको हो,” उहाँले भन्नुभयो।

दश हजार कुखुरा पाल्दा करिब दुई हजार कुखुरा मर्ने भएकाले बाँकी आठ हजार कुखुराले २६ लाख ८८ हजार अण्डा दिने अनुमान छ। तीमध्ये करिब तीन प्रतिशत (८० हजार ६४०) बिक्रीयोग्य नहुने भएकाले २६ लाख ७ हजार ३६० अण्डा मात्र बिक्रीयोग्य हुन्छन्।

अण्डा दिन छाडेपछि आठ हजार कुखुरा प्रतिगोटा रु २०० मा बिक्री गर्दा रु १६ लाख, र ३०० बोरा मल प्रतिगोटा रु २०० मा बिक्री गर्दा रु ६० हजार आम्दानी हुने अनुमान छ।

लागत अध्ययन समितिमा प्रा. डा. रेवन्तकुमार भट्टराई (संयोजक), प्रा. डा. सुविर सिंह, सहप्राध्यापक डा. अनिलकुमार तिवारी तथा सदस्यसचिव उपप्राध्यापक डा. अनन्त दाहाल रहेका छन्।

प्रतिवेदनबारे आज संबंधित निकायका प्रतिनिधिहरूबीच अन्तक्र्रिया सम्पन्न भएको मञ्चले जनाएको छ। अन्तक्र्रियामा विभिन्न निकायका विशेषज्ञ तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू सहभागी थिए।

नेपाल कुखुरा व्यवसायी मञ्चले समितिले निकालेको अण्डाको प्रतिगोटा लागत मूल्य रु १९.१२ लाई समर्थन गर्ने निर्णय गरेको छ। सो मूल्यलाई जिल्ला पशु सेवा कार्यालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाई अनुमोदन गराउने निर्णय भएको मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो।

By twuv9

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.