AgriVet Sanchar

बर्डफ्लु विश्वव्यापी चासोको विषय हुनुको प्रमुख चार कारण

डा. मनोज कुमार शाही

(पशु चिकित्सक)

सामान्यतया पशुमा रोग देखिए पछि उपचार गरिन्छ। तर पशुका केहि रोगहरु छन, जस्तै वर्डफ्लु, जुन रोग नियन्त्रण गर्नको लागि संक्रमित पन्छी मात्र मारिदैन, वरिपरिको संक्रमित पंछीसँग लसपस भएका वा हुन सक्ने सवै पन्छी, अण्डा, दाना तथा सोत्तर लगाएतका वस्तुहरुलाई नस्ट गरी निसंक्रमण गरिन्छ। यसरी संक्रमित पंछीनै मार्नुको मुख्य कारणमा अन्य पन्छीमा रोग नदिनु, मानसमा सर्न नदिनु र अन्तर्राष्ट्रिय व्यापारलाई नियमित गर्नु हुन। २०६५ यता नेपालमा करिव ३४ लाख कुखुरा र ५५ लाख अण्डा वर्डफ्लु संक्रमणका कारण कारण नष्ट गरिएका छन।

त्यसैले तपाईंलाई बर्डफ्लु केवल पशुपन्छीको मात्र समस्या हो जस्तो लाग्छ भने, फेरि सोच्नुपर्ने समय आएको छ।

परापुर्वकाल देखि मानव र पशु बीच सधैं घनिष्ठ सम्बन्ध रहिआएको छ। पशुले हामीलाई दुध, मासु, अण्डा, लुगाफाटो, यातायातका साथै जीविकोपार्जनमा समेत सहयोग गरिरहेका हुन्छन जसबाट स्वस्थ पारिस्थितिक प्रणालीलाई पनि टेवा पुर्याईरहेका हुन्छन। नेपालको सन्दर्भमा भने करिव ३४ लाख घरपरिवार पशु पालनमा संलग्न भएको देखिन्छ।

बढ्दो जनसंख्या, शहरीकरण तथा विश्वव्यापी पशुपालन उत्पादनको विस्तारसँगै मानिस र पशुहरू पहिलेभन्दा धेरै नजिक हुन थालेका छन्। तसर्थ पशुहरूको स्वास्थ्य मानवसँग प्रत्यक्षरुपमा जोडिएको छ। पशुहरुको स्वास्थ्य अवस्था तथा रोगको प्रकोपको निगरानीले मानव जीवन बचाउन, आर्थिक क्षति कम गर्न तथा विश्वव्यापी महामारी फैलिनबाट रोक्न मद्दत गर्छ। एभियन इन्फ्लुएन्जा मानव र पशु दुवैका लागि गम्भीर समस्याको रुपमा रहदै आएको छ। हाल नेपालमा समेत काठमाण्डौ उपत्यका सहितका १० जिल्लामा यो रोग फैलिरहेको छ। तसर्थ वर्डफ्लुलाई विश्वव्यापी चासोका रुपमा हेरिनुका प्रमुख कारण यस प्रकार छन।

१. यो सीमापार फैलिने र पशुबाट मानिसमा सर्ने रोग

एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लु इन्फ्लुएन्जा ए भाइरसका कारण हुने रोग हो। यसले मुख्यतः जंगली तथा घरपालुवा चराचुरुङ्गीलाई असर गर्छ। हाल विश्वभर फैलिरहेको H5N1 उच्च रोगजन्य एभियन इन्फ्लुएन्जाको पंछीमा छिटो सर्ने र उच्च मृत्युदर गराउने खालको छ। यो भाइरस विश्वका दुधालु गाई, स्याल, सिल, बाध तथा घरपालुवा पशुहरूमा समेत भेटिएको छ, जसले विभिन्न प्रजातिबीच यसको फैलावट र मानव स्वास्थ्यमा पर्ने जोखिमबारे चिन्ता बढाएको छ।

सन् २०२० को अन्त्यतिर सुरु भएको यो प्रकोपले दुर्लभ तथा महत्वपूर्ण जंगली चराहरूको साथै कुखुरामा ठूलो आर्थिक नोक्सानी गरिरहेको छ, जसले खाद्य सुरक्षा र विश्वव्यापी खाद्य आपूर्ति शृङ्खलामा समेत असर पारेको छ। उदाहरणका लागि, अहिले नेपालमा समेत अण्डाको अभाव सृजना भईरहेको छ। गाईवस्तुमा यस रोगले दूध उत्पादन घटाउन सक्छ, र दुग्ध उद्योगमा कार्यरत कामदारहरूमा संक्रमण भएका केही दुर्लभ घटनाहरू पनि रिपोर्ट भएका छन्।

२. निरन्तर परिवर्तन (Mutation) भइने भाईरस

एभियन इन्फ्लुएन्जा भाइरस RNA भाइरस हो, जसको अर्थ यसले छिटो परिवर्तन र विकास गर्न सक्छ। नयाँ-नयाँ प्रकारका स्ट्रेन निरन्तर देखा परिरहेका छन्, जसले स्तनधारी पशुहरूमा अनुकूलन हुने सम्भावना बढाइरहेको छ। विश्व पशु स्वास्थ्य संगठनका अनुसार, सन् २०२४ मा स्तनधारी पशुहरूमा बर्ड फ्लुको प्रकोप सन् २०२३ को तुलनामा दोब्बरभन्दा बढी देखिएका छन। यसबाट के भन्न सकिन्छ भने वर्डफ्लुले थप फैलावट र मानिसमा संक्रमणको जोखिम बढाएको छ। इतिहासमा यस्ता केही भाइरस मानिसमा सरेर घातक महामारीको कारण बनेका छन्। उदाहरणका लागि, सन् १९१८ को स्पेनिस फ्लु महामारी एभियन मूलको H1N1 भाइरसबाट उत्पन्न भएको मानिन्छ, जसले विश्वभर करिब ५० करोड मानिसलाई संक्रमित गरेको थियो।

३. वर्डफ्लु विश्वव्यापी रूपमा फैलिएको छ

H5N1 पहिलो पटक सन् १९९६ मा एशियामा देखा परेपछि विश्वका विभिन्न भागहरूमा एभियन इन्फ्लुएन्जाका धेरै प्रकोपहरू भएका छन्। जंगली चराहरूको लामो दूरीको बसाइँसराइले रोगलाई सीमापार फैलाउन ठूलो भूमिका खेलेको छ। साथै, असुरक्षित कुखुरा पालन अभ्यासहरू पनि रोग प्रवेश र फैलावटका महत्वपूर्ण कारणहरू हुन्। हाल H5N1 का प्रकोपहरू अफ्रिका, अमेरिका, एशिया र युरोपमा रिपोर्ट भएका छन्, र यो अन्टार्कटिकासम्म पुगिसकेको छ, जहाँ यसले वन्यजन्तुहरूलाई प्रभावित गरेको छ। अक्टोबर २०२२ यता विश्वभर ३,४०० भन्दा बढी प्रकोपहरू रिपोर्ट भएका छन्। यसको परिणामस्वरूप क्वारेन्टाइन, पशुपन्छीको आवागमनमा प्रतिबन्ध, निगरानी वृद्धि तथा संक्रमित पंछीका बथानलाई मार्ने जस्ता उपायहरू लागू गरिएका छन्। यी व्यवधानहरूले कुखुरा उद्योग, खाद्यान्न मूल्य तथा पशुजन्य प्रोटिनको उपलब्धतामा असर पारिरहेका छन्।

४. यसलाई विश्वव्यापी र समन्वयात्मक पहल आवश्यक पर्छ

वर्डफ्लुको म्युटेसन भई कोभिड १९ जस्तै मानिसमा छिटो फैलिने रुप लिएको अवस्थामा मानिसमा ५० प्रतिशत मृत्यदर हुने वैज्ञानिकहरुले वताएका छन। तसर्थ यो कुनै एक पशुपन्छी क्षेत्रको मात्र समस्या नभएर सबै सरोकारवालाहरुको साझा समस्या हो र समाधान पनि साझ पहलबाट मात्र निकाल्न सकिन्छ। पशु, मानिस, वनस्पति र वातावरणको स्वास्थ्य एकअर्कासँग अन्तरसम्बन्धित र परस्पर निर्भर छ।

रोग देखिएको स्थानमै प्रभावकारी नियन्त्रण गर्न सकियो भने छिमेकी फार्महरू,

“अन्य पशुहरू र मानिसहरूमा फैलिनबाट रोक्न सकिन्छ। यसले सीमापार फैलावट, आर्थिक क्षति, खाद्य असुरक्षा तथा मूल्यवृद्धि जस्ता समस्याहरूलाई पनि कम गर्न मद्दत गर्छ। भाइरस विश्वभर फैलिरहेकाले निगरानी, प्रारम्भिक पहिचान तथा छिटो नियन्त्रण गर्ने देशको क्षमतामा लगानी गर्नु अत्यन्त आवश्यक छ। यसले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा हुने थप क्षति न्यूनीकरण गर्न मद्दत गर्नेछ।”

(डा. मनोज कुमार शाही नेपाल सरकार अन्तर्गत वरिष्ठ पशु चिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ।)

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.