विश्व स्वास्थ्य सुरक्षाको क्षेत्रमा बारम्बार देखिने तर कम चर्चा हुने घातक रोगहरूमध्ये निपाह भाइरस (Nipah Virus) आज फेरि दक्षिण एशियाली क्षेत्रमा चिन्ताको विषय बनेको छ। छिमेकी भारतमा समय–समयमा देखिँदै आएको यसको प्रकोपले नेपाल जस्तो खुला सीमा, जैविक विविधता र कमजोर निगरानी प्रणाली भएको देशका लागि गम्भीर चेतावनी दिएको छ। यो केवल स्वास्थ्य मन्त्रालयको विषय होइन, मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्ध बुझ्ने “One Health” अवधारणासँग जोडिएको राष्ट्रिय सुरक्षा मुद्दा पनि हो।
निपाह भाइरस : रोग मात्र होइन, चेतावनी
निपाह भाइरस पहिलो पटक सन् १९९९ मा मलेसिया र सिंगापुरमा पहिचान गरिएको थियो। यो भाइरस Henipavirus genus अन्तर्गत पर्दछ र यसको प्राकृतिक भण्डार (natural reservoir) फलाहारी चमेराहरु (Fruit Bat / Pteropus species) हुन्। प्रारम्भिक प्रकोपमा सुअर माध्यम (intermediate host) बनेका थिए भने पछिल्ला प्रकोपहरूमा चमेराहरुबाट सिधै मानिसमा संक्रमण भएको प्रमाण भेटिएको छ।
यस भाइरसको सबैभन्दा चिन्ताजनक पक्ष भनेको यसको उच्च मृत्यु दर (४०–७५ प्रतिशतसम्म), मानिस–मानिसबीच सर्न सक्ने क्षमता, र विशिष्ट औषधि तथा खोपको अभाव हो। यसले निपाह भाइरसलाई सम्भावित महामारीजन्य रोग (Pandemic-prone disease) को सूचीमा राखेको छ।
संक्रमणको मार्ग : हाम्रो जीवनशैलीसँग जोडिएको जोखिम
निपाह भाइरसको संक्रमण बहुआयामिक छ।
मुख्य संक्रमण मार्गहरू निम्न छन्:
- संक्रमित चमेराहरुको र्याल, पिसाब वा मलले दूषित फलफूल सेवन गर्नु
- काँचो खजूरको रस (Date palm sap) जस्ता खुला रूपमा सङ्कलन गरिने खाध्य वस्तु
- संक्रमित पशु (विशेषगरी सुँगुर) सँग प्रत्यक्ष सम्पर्क
- संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क, विशेषगरी अस्पताल तथा घरभित्रको हेरचाह क्रममा
यी सबै मार्गहरू ग्रामीण जीवनशैली, कृषि–पशुपालन प्रणाली र कमजोर खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छन्, जुन अवस्था नेपालमा व्यापक रूपमा विद्यमान छ।
लक्षण र रोगको गम्भीरता
निपाह भाइरसको इन्क्युबेशन अवधि ४ देखि १४ दिनसम्म हुन्छ। सुरुमा देखिने लक्षण सामान्य भाइरल ज्वरोसँग मिल्दोजुल्दो भए पनि केही दिनमै अवस्था गम्भीर हुन सक्छ।
प्रारम्भिक लक्षणहरू:
- उच्च ज्वरो
- टाउको दुखाइ
- मांसपेशी दुखाइ
- वाकवाकी, बान्ता
- घाँटी दुख्ने, खोकी
गम्भीर अवस्थामा:
- मस्तिष्कको सूजन (Encephalitis)
- भ्रम, चेतनास्तर घट्नु
- झट्का (Seizures)
- कोमा
- श्वासप्रश्वास असफलता
सबैभन्दा खतरनाक पक्ष के हो भने, धेरै बिरामीहरूमा न्युरोलोजिकल असर दीर्घकालीन रूपमा बाँकी रहन सक्छ, जसले सामाजिक र आर्थिक बोझ थप बढाउँछ।
रोकथाम नै मुख्य उपचार
हालसम्म निपाह भाइरसको न त प्रभावकारी औषधि छ, न त सर्वसुलभ खोप। त्यसैले रोकथाम र पूर्वतयारी नै एकमात्र भरपर्दो उपाय हो।
व्यक्तिगत र सामुदायिक स्तरमा:
- चमेराहरु तथा जंगली जनावरसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु
- भुइँमा झरेका वा टोकेका फलफूल नखानु
- काँचो फलको रस सेवन नगर्नु
- हात धुने, सरसफाइ र व्यक्तिगत स्वच्छतामा कडाइ
- ज्वरो र स्नायुगत लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क
स्वास्थ्य संस्थागत स्तरमा:
- Infection Prevention and Control (IPC) मापदण्ड कडाइका साथ लागू
- PPE को सुनिश्चित उपलब्धता
- Isolation र contact tracing प्रणाली सुदृढ
संक्रमण नियन्त्रणमा पशु चिकित्सा क्षेत्रको निर्णायक भूमिका
निपाह भाइरसको मूल स्रोत पशु भएकाले पशु चिकित्सा क्षेत्र (Veterinary Sector) को भूमिका केन्द्रीय छ।
- पशु रोग निगरानी (Animal Surveillance): चमेराहरु, सुँगुर र अन्य संवेदनशील प्रजातिमा नियमित रोग निगरानी
- बायोसेक्युरिटी: पशु फार्ममा चमेराहरु प्रवेश रोक्ने संरचना, फिड र पानीको सुरक्षा
- असामान्य पशु मृत्युको तत्काल रिपोर्टिङ
- मानव स्वास्थ्य क्षेत्रसँग समन्वय: One Health framework अन्तर्गत सूचना आदान–प्रदान
- पशुपालक किसानको सचेतना: रोग, जोखिम र सुरक्षाबारे तालिम
नेपालमा पशु स्वास्थ्य सेवाको कमजोर संरचना सुदृढ नगरी निपाह जस्ता रोग नियन्त्रण सम्भव छैन।
नेपाल सरकारका लागि अनिवार्य कदम
निपाह भाइरस नेपालमा अहिलेसम्म पुष्टि नभए पनि जोखिम नहुनु र तयारी नहुनु दुई फरक कुरा हुन्। सरकारले निम्न कदमहरू तत्काल लिनु अपरिहार्य छ:
- One Health नीति व्यवहारमा उतार्ने – कागजमा सीमित नराख्ने
- सीमा क्षेत्र र जोखिमयुक्त जिल्लामा सक्रिय निगरानी प्रणाली
- राष्ट्रिय प्रयोगशाला क्षमताको विस्तार (PCR, Biosafety Level)
- स्वास्थ्य र पशु चिकित्सक जनशक्तिको तालिम
- जनचेतना अभियान – विशेषगरी ग्रामीण तथा कृषक समुदायमा
- आपतकालीन प्रतिक्रिया योजना र अभ्यास (Simulation drills)
- क्षेत्रीय सहकार्य – भारत, बंगलादेश जस्ता देशसँग सूचना साझेदारी
निष्कर्ष
निपाह भाइरस कुनै टाढाको समस्या होइन, न त भविष्यको अनिश्चित खतरा मात्र हो। यो हाम्रो पारिस्थितिकी, जीवनशैली र नीतिगत कमजोरीसँग गाँसिएको यथार्थ जोखिम हो।आज तयारी नगर्ने हो भने, भोलि नियन्त्रण असम्भव हुन सक्छ। त्यसैले निपाह भाइरसको सन्दर्भमा डर होइन, दूरदृष्टि, आतङ्क होइन, अग्रिम तयारी, र एकल क्षेत्र होइन, समन्वित One Health दृष्टिकोण नै नेपालका लागि सुरक्षित भविष्यको आधार हो।