AgriVet Sanchar

पश्चिमी वायुको प्रभाव: देशभर आंशिक बदली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। देशभर मौसममा आंशिक परिवर्तन देखिएको छ। हाल नेपालमा पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुले प्रभाव पार्दा विभिन्न भू–भागमा फरक–फरक किसिमको मौसम अवस्था देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम बदली रहेको छ भने पहाडी भू–भागमा आंशिक बदलीको अवस्था कायम छ। तराई क्षेत्र भने अधिकांश स्थानमा खुला आकाशसहित घाम लागेको छ। विशेषगरी कोशी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले हल्का वर्षासँगै उच्च भेगमा हिमपातसमेत भइरहेको छ।

आज बिहीबारको मौसम हेर्दा कोशी प्रदेशका पहाडी तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने तराईका जिल्लाहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ। बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार यो मौसमी परिवर्तन पश्चिमी वायुको प्रभावका कारण भएको हो, जसले विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा छोटो अवधिका वर्षा र हिमपात गराउने गर्दछ। यस्ता अवस्थाले चिसो बढाउने भएकाले उच्च भेगमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूले सावधानी अपनाउनुपर्ने महाशाखाको सुझाव छ।

तराई क्षेत्रमा भने तत्काल ठूलो मौसमीय असर नदेखिए पनि बिहान र बेलुका हल्का कुहिरो लाग्ने तथा तापक्रममा सामान्य गिरावट आउने सम्भावना रहेको छ। आगामी केही दिन यस्तै मिश्रित मौसम रहने संकेत मौसमविद्हरूले दिएका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.