काठमाडौँ, असोज १३ गते । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकामा खसीबोकाको माग बढ्न थालेको छ । तर, यसपटक मागअनुसार खसीबोका राजधानी भित्र्याउन व्यवसायीलाई सहज छैन । विभिन्न ठाउँमा आएको बाढीपहिरो र अविरल वर्षाका कारण सडक अवरुद्ध भएपछि खसीबोका ढुवानीमा समस्या देखिएको हो ।
व्यवसायीका अनुसार दसैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ४५ देखि ४८ हजार खसीबोका खपत हुने गर्छ । तर, यस वर्ष रसुवाको भोटेकोशीमा आएको बाढी र अन्य जिल्लाका सडकमा देखिएको अवरोधका कारण विगतमा जस्तो सहज रूपमा खसीबोका ल्याउन सकिने अवस्था छैन ।
चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार सडकको अवस्थाले खसीबोका र भेडाच्याङ्ग्रा ल्याउने काममा असर परेको छ । बाटोमा समस्या भएपछि ढुवानीको समय र खर्च दुवै बढ्ने भएकाले त्यसको असर बजार मूल्यमा समेत पर्ने उहाँ बताउनुहुन्छ ।
अहिले काठमाडौँको बजारमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपैयाँसम्म पुगेको छ ।
“बाटोको समस्या छ । बाहिरबाट खसीबोका ल्याउन नै गाह्रो भइरहेको छ । दसैँमा माग झन् बढ्ने भएकाले आपूर्ति सहज भएन भने मूल्यमा थप दबाब पर्न सक्छ,” खत्रीले भन्नुभयो ।
यसपटक सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने दसैँका लागि खसीबोका खरिद गरेर बिक्री नगर्ने भएको छ । कम्पनीले हरेक वर्ष दसैँका बेला खसीबोका ल्याएर बिक्री गर्दै आएको भए पनि यस वर्ष खरिद तथा ढुवानीको खर्च बढी पर्ने भएपछि कार्यक्रम नै नराखिएको हो ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यसपटक खसीबोका ल्याउँदा नाफाभन्दा घाटा हुने देखिएको छ । त्यसमाथि सडकको अवस्था पनि सहज छैन ।
“नाफा हुनेभन्दा पनि घाटा हुने कार्यक्रम भयो । बाटोहरू पनि जटिल छन् । ल्याउँदा ल्याउँदै बाटोमै पशु चौपाया मर्यो भने झन् समस्या हुन्छ,” मिश्रले भन्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत पनि कम्पनीलाई नाफा नहुने देखिएपछि यस वर्ष खसीबोका ल्याउने कार्यक्रम रोकिएको बताउनुहुन्छ ।
अब निजी क्षेत्रबाटै बजारको माग पूरा गर्ने गरी समन्वय गरिने उहाँको भनाइ छ । सरकारले खरिद गर्दा लागतको अनुमान गरेर मूल्यलाई केही हदसम्म नियन्त्रणमा राख्न सकिने भए पनि निजी क्षेत्रबाट आउने खसीबोकाको मूल्य सरकारले सोझै तोक्न नसक्ने उहाँले बताउनुभयो ।
बजारमा अस्वाभाविक रूपमा मूल्य बढेमा भने अनुगमन गरेर आवश्यक कदम चालिने मन्त्रालयको भनाइ छ ।
उता, खसीबोका पाल्दै आएका किसानको गुनासो भने अर्कै छ । बजारमा खसीबोकाको मूल्य महँगो भए पनि त्यसको उचित हिस्सा किसानसम्म नपुग्ने उनीहरूको गुनासो छ ।
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले किसानले उत्पादनको उचित मूल्य नपाउँदा व्यावसायिक रूपमा बाख्रा पाल्ने किसान निराश हुँदै गएको बताउनुभयो ।
किसानले गाउँमा सस्तोमा खसीबोका बेच्नुपर्ने र उपभोक्ताले काठमाडौँमा महँगोमा किन्नुपर्ने अवस्थाबीच बिचौलियाको भूमिका प्रमुख रहेको व्यवसायीहरूको भनाइ छ ।
चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष खत्रीले किसान र उपभोक्ता दुवैलाई असर पर्ने गरी बीचमा मूल्य बढाउने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो ।
“उत्पादन गर्ने मरेको मर्यै छ, बिचौलियाको बिगबिगी छ । बिचौलियाको अन्त्य गर्न हामीले सरकारसँग धेरैपटक माग राखेका छौँ,” उहाँले भन्नुभयो ।
व्यवसायीका अनुसार किसानले राम्रो मूल्य पाए उत्पादन बढाउन सक्छन् । तर, उत्पादनको मूल्य किसानले नपाउने र उपभोक्ताले पनि महँगो तिर्नुपर्ने अवस्था रहिरहे बजारमा खसीबोकाको आपूर्ति थप प्रभावित हुन सक्छ ।
यसपटक भारतलगायत छिमेकी मुलुकबाट खसीबोका ल्याउँदा पनि स्वास्थ्य परीक्षणमा कडाइ गर्नुपर्ने व्यवसायीहरूको माग छ । बाहिरबाट आउने पशुको स्वास्थ्य अवस्था, ढुवानीको तरिका र गुणस्तरमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरू बताउँछन् ।
दसैँका लागि अब बजारमा खसीबोकाको चहलपहल अझ बढ्नेछ । तर, सडकको अवस्था, आपूर्ति र मूल्यबीचको सन्तुलन मिलाउन नसकिए उपभोक्ताले यस वर्ष खसीबोकाका लागि थप रकम खर्च गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरूको भनाइ छ ।