AgriVet Sanchar

वन्यजन्तुको व्यावसायिक पालनसम्बन्धी मापदण्ड फेरिँदै, सरकारद्वारा राय–सुझाव आह्वान

काठमाडौं । सरकारले नेपालमा वन्यजन्तुको व्यावसायिक पालन, प्रजनन् र उपयोगलाई थप व्यवस्थित बनाउन विद्यमान कानुनी मापदण्ड परिमार्जन गर्ने तयारी थालेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् तथा उपयोग सम्बन्धी मापदण्ड, २०८०’ संशोधनका लागि सरोकारवालासहित आम नागरिकबाट राय, सुझाव तथा प्रतिक्रिया माग गरेको हो।

विभागले हालको मापदण्डलाई समयअनुकूल बनाउँदै व्यावसायिक वन्यजन्तु पालन तथा प्रजनन् क्षेत्रलाई थप व्यवस्थित गर्न आवश्यक देखिएको जनाएको छ। त्यसका लागि विद्यमान व्यवस्थामा के–कस्ता सुधार आवश्यक छन्, कुन प्रावधान थपिनुपर्छ वा हटाउन तथा संशोधन गर्नुपर्छ भन्ने विषयमा सुझाव मागिएको हो।

विभागले मापदण्डको विद्युतीय प्रति आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ। सम्बन्धित व्यक्ति तथा संस्थाले मापदण्ड अध्ययन गरेर त्यसका आधारमा आफ्ना सुझाव पेश गर्न सक्नेछन्।

के–के विषयमा सुझाव दिन सकिन्छ?

विभागले सुझाव दिँदा मुख्य राय–सुझावसँगै परिमार्जन गर्नुपर्ने दफा वा बुँदा, त्यसको कारण, नयाँ थप गर्नुपर्ने विषय तथा हटाउन वा संशोधन गर्नुपर्ने प्रावधान स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरेको छ।

त्यसका लागि सुझावकर्ताले आफ्नो नाम वा संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर र इमेलसमेत उपलब्ध गराउनुपर्नेछ।

भदौ १० गतेसम्म सुझाव पठाउन सकिने

विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ भदौ १० गतेसम्म सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ।

सुझाव info@dnpwc.gov.np मा इमेलमार्फत पठाउन सकिनेछ। त्यस्तै, हुलाकमार्फत वा प्रत्यक्ष रूपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहल, काठमाडौं मा दर्ता गराउन सकिने विभागले जनाएको छ।

वन्यजन्तुको व्यावसायिक पालन र प्रजनन् क्षेत्र विस्तार हुँदै जाँदा त्यसलाई संरक्षण, नियमन र आर्थिक उपयोगबीच सन्तुलन कायम गर्दै व्यवस्थित गर्ने उद्देश्यले मापदण्ड संशोधन प्रक्रिया अघि बढाइएको विभागको भनाइ छ।

प्राप्त राय तथा सुझावका आधारमा मापदण्डमा आवश्यक सुधार गरी यस क्षेत्रलाई थप स्पष्ट, व्यावहारिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.