AgriVet Sanchar

वर्षायाममा कुहिएको घाँस र विषालु झारपातबाट गाईवस्तुलाई कसरी जोगाउने?

                         —लेख—

—डा. केदार कार्की

नेपालमा मनसुन सुरु भएसँगै खेतबारीहरू हरियाली बढे सँगै ढकिन थालेका छन, पशुचौपायाका लागि प्रशस्त हरियो घाँस उपलब्ध हुन थालेको छ। हरियो घाँसले पशुधनलाई आवश्यक पोषण दिने भए पनि वर्षायाममा उब्जिने सबै घाँस सुरक्षित हुँदैनन्। अत्यधिक वर्षा, पानी जम्ने अवस्था र उच्च आर्द्रताका कारण घाँसमा ढुसी, हानिकारक ब्याक्टेरिया, परजीवी तथा विषालु झारपातको वृद्धि हुने भएकाले गाई, भैंसी, भेडा र बाख्राको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।

वर्षायाम किन चुनौतीपूर्ण हुन्छ?

मनसुनको समयमा वातावरणमा आर्द्रता अत्यधिक हुने भएकाले पशुहरूको पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ। यही मौसममा आन्तरिक तथा बाह्य परजीवीको संक्रमण बढ्ने, छालासम्बन्धी रोग फैलिने र विभिन्न संक्रामक रोगको जोखिम उच्च हुने भएकाले पशुपालकले विशेष सावधानी अपनाउनुपर्छ।

यदि गोठ वरिपरि पानी जम्ने, सरसफाइमा कमी हुने वा दूषित पानी प्रयोग गरिने अवस्था छ भने रोगको संक्रमण अझ छिटो फैलिन सक्छ।

कुहिएको वा ढुसी लागेको घाँस किन खतरनाक हुन्छ?

धेरै किसानले वर्षाका कारण भिजेको वा केही दिन थन्किएको घाँस पशुहरूलाई खुवाउने गर्छन्। यस्तो घाँसमा ढुसी विकास भएर माइकोटोक्सिन नामक विषालु पदार्थ उत्पादन हुन सक्छ। यसले पशुको पाचन प्रणाली, कलेजो र रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर पुर्‍याउँछ।

यस्तो घाँस खुवाउँदा निम्न समस्या देखिन सक्छन्–

  • अपच र पखाला
  • पेट फुल्ने
  • भोक कम लाग्ने
  • दूध उत्पादन घट्ने
  • शरीर कमजोर हुने
  • गम्भीर अवस्थामा विषाक्तता

त्यसैले घाँस खुवाउनु अघि त्यसको गन्ध, रंग र अवस्था राम्रोसँग जाँच गर्नु आवश्यक हुन्छ। दुर्गन्ध आउने, कालो वा सेतो ढुसी देखिएको वा कुहिएको घाँस कहिल्यै प्रयोग गर्नुहुँदैन।

विषालु झारपातबाट पनि उत्तिकै सावधानी

वर्षायाममा हरियो घाँससँगै विभिन्न प्रकारका झारपात पनि उम्रिन्छन्। सबै झारपात हानिकारक नहुने भए पनि केही झारपातहरूले पशुको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छन्।

लान्टाना, धतुरा, दुधे झार, गोखुरे झार, गाजर घाँस, जंगली जुनेलो तथा केही विषालु वनस्पति सेवन गर्दा पशुमा जन्डिस, पखाला, कलेजो र मिर्गौलामा समस्या, दृष्टि कमजोर हुने, छालामा एलर्जी तथा गर्भवती पशुमा गर्भपतनसम्म हुन सक्छ।

चरन क्षेत्रमा यस्ता झारपातको पहिचान गरी समयमै हटाउनु सबैभन्दा प्रभावकारी उपाय हो।

घाँसको छनोट

वर्षायाममा घाँस काट्दा पानी नजम्ने, सफा र उचाइ भएका स्थानका घाँस छनोट गर्नुपर्छ। दलदल, नाली, फोहोर वा लामो समयसम्म पानी जम्ने स्थानका घाँस प्रयोग गर्नु उपयुक्त हुँदैन।

नेपियर, मकै, जौ, ओट्स तथा राम्रो व्यवस्थापन गरिएको हरियो घाँस तुलनात्मक रूपमा सुरक्षित र पौष्टिक मानिन्छ।

गोठ व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण

बर्खायाममा घाँस मात्र राम्रो भएर पुग्दैन। गोठ सधैं सफा, सुख्खा र हावा आवतजावत हुने हुनुपर्छ। पानी जम्न नदिने, मलमूत्र नियमित सफा गर्ने र पशु चौपाया भिजेपछि तुरुन्त सुकाउने बानीले धेरै रोगबाट बचाउन मद्दत गर्छ।

नियमित खोप र स्वास्थ्य परीक्षण

मनसुन सुरु हुनुअघि पशुहरूलाई आवश्यक खोप लगाउनु अत्यन्त आवश्यक हुन्छ। भ्यागुते, चरचरे ज्वरो लगायतका संक्रामक रोगविरुद्धको खोपले ठूलो क्षतिबाट जोगाउन सक्छ। साथै समय–समयमा पशु स्वास्थ्य परीक्षण, जुकाको औषधि र आवश्यक पोषण व्यवस्थापनले उत्पादन क्षमता पनि बढाउँछ।

अन्तमा ,वर्षायाम पशुपालनका लागि अवसर र चुनौती दुवै हो। पर्याप्त हरियो घाँस उपलब्ध हुने यही समयमा कुहिएको घाँस, विषालु झारपात, दूषित पानी र कमजोर गोठ व्यवस्थापनले पशुमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले सफा, ताजा र ढुसीमुक्त घाँसको प्रयोग, सुरक्षित चरन, राम्रो गोठ व्यवस्थापन, नियमित खोप तथा पशु चिकित्सकको सल्लाहअनुसार हेरचाह गर्न सके वर्षायाममा पनि गाईवस्तुलाई स्वस्थ राख्न सकिन्छ। स्वस्थ पशुधनले मात्रै किसानको उत्पादन र आम्दानी दुवै बढाउन सक्छ।

                                                                                      लेखक—डा. केदार कार्की (वरिष्ठ पशु चिकित्सक )

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.