वीरगन्ज करिब तीन दशकसम्म सुनसान बनेको वीरगन्जस्थित कृषि औजार कारखानामा फेरि मेसिनहरूको आवाज सुनिन थालेको छ। लामो समयदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगले अहिले नयाँ जीवन पाएको छ। राष्ट्रिय आविष्कार केन्द्रको पहलमा यहाँ पुनः कृषि यन्त्र उत्पादन सुरु भएको छ, जसले किसानमा नयाँ आशा जगाएको छ।
एक समय देशकै प्रमुख कृषि औजार उत्पादन केन्द्रका रूपमा परिचित यो कारखाना निजीकरणको निर्णयसँगै २०५३ सालदेखि बन्द भएको थियो। त्यसपछि वर्षौंसम्म उद्योगका मेसिनहरू मौन रहे। तर सरकारले २०७९ सालमा यसको सञ्चालनको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिएपछि उद्योग पुनर्जीवित गर्ने अभियान सुरु भयो। करिब २८ महिनाको निरन्तर तयारी, अनुसन्धान र परीक्षणपछि अहिले उत्पादन बजारसम्म पुग्न थालेको छ।
धान रोप्ने सिजन सुरु भएसँगै कारखानाबाट उत्पादन गरिएको हातले चलाउने धान रोप्ने मेसिन किसानबीच लोकप्रिय बन्न थालेको छ। राष्ट्रिय आविष्कार केन्द्र, वीरगन्जका प्रमुख तथा इन्जिनियर रितेश देवका अनुसार पहिलो चरणमै चितवनका किसानलाई यी मेसिन बिक्री गरिएको छ। एउटा हाते धान रोप्ने मेसिनको मूल्य २१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ भने राइस प्लान्टरका केही सेट पनि बिक्रीका लागि तयार अवस्थामा छन्।
देवका अनुसार अहिले किसानको सबैभन्दा बढी चासो धान रोपाइँसँग सम्बन्धित उपकरणमा देखिएको छ। उत्पादन गरिएका अधिकांश मेसिन रोपाइँ सकिनुअघि नै बिक्री हुने सम्भावना रहेको उनले बताए। किसानबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि उत्पादन टोलीमा थप उत्साह थपिएको उनको भनाइ छ।
धान रोप्ने मेसिनसँगै कारखानाले खेतको झारपात हटाउने प्याडी विडर केज ह्विल, कोदो रोप्ने मिलेट प्लान्टर, माछापालनका लागि आवश्यक फिस इन्क्युवेटर र अक्सिजन टावरजस्ता उपकरण पनि उत्पादन गरेर बजारमा ल्याएको छ। यीमध्ये केही उपकरण नेपालमै पहिलो पटक व्यावसायिक रूपमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको दाबी छ।
मूल्यका हिसाबले पनि स्वदेशी उपकरण विदेशी उत्पादनभन्दा सस्ता र बलिया रहेको केन्द्रले जनाएको छ। प्याडी विडर केज ह्विलको मूल्य दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म राखिएको छ भने फिस इन्क्युवेटर र अक्सिजन टावरको एक सेटको मूल्य एक लाख रुपैयाँ तोकिएको छ। राइस प्लान्टर र मिलेट प्लान्टरको मूल्य क्रमशः १५ देखि २० हजार रुपैयाँ र १५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
हालसम्म एक सयभन्दा बढी प्याडी विडर बिक्री भइसकेका छन् भने थप पाँच सयभन्दा बढी उपकरणको माग आइसकेको केन्द्रले जनाएको छ। माछापालनका लागि प्रयोग हुने फिस इन्क्युवेटरका १२ सेट बिक्री भइसकेका छन्। कोदो रोप्ने मेसिनप्रति पनि किसानको रुचि बढ्दै गएको बताइएको छ।
उत्पादन क्षमता अझ बढाउन कारखानाले हालै अत्याधुनिक लेजर वेल्डिङ मेसिन पनि खरिद गरेको छ। करिब १८ लाख रुपैयाँ लागतमा ल्याइएको यो उपकरणले धातु काट्ने, वेल्डिङ गर्ने र खिया हटाउने काम सहज बनाउने भएकाले उत्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले कारखाना पुनः सञ्चालन गर्न आवश्यक प्रारम्भिक खर्च आफ्नो आत्मकथाको बिक्रीबाट संकलन भएको रकमबाट व्यवस्थापन गरिएको बताएका छन्। अहिले कारखानामा धान काट्ने रिपर, आलु रोप्ने र खन्ने मेसिन, मल्चर, डङ्ग डिवाटरिङ मेसिन, घाँस काट्ने उपकरण, विडर लगायत करिब १५ प्रकारका कृषि यन्त्र उत्पादन भइरहेका छन्। साथै कुटो, कोदालो, खुर्पी र चाप कटरजस्ता परम्परागत कृषि औजार पनि निर्माण भइरहेको छ।
यो कारखाना तत्कालीन सोभियत संघको सहयोगमा स्थापना भएको थियो र २०२४ सालमा उद्घाटन गरिएको थियो। कृषि उपकरणसँगै विद्युत्का पोल, ट्यांकर, जहाज चढ्ने भर्याङलगायत विभिन्न औद्योगिक सामग्री उत्पादन गर्ने क्षमता यस उद्योगसँग थियो। पूर्ण रूपमा सञ्चालन हुँदा यहाँ तीन सयभन्दा बढी कर्मचारी कार्यरत थिए।
वर्षौंसम्म बन्द रहेपछि फेरि उत्पादनमा फर्किएको यो उद्योगले अब नेपाली किसानलाई स्वदेशमै बनेका गुणस्तरीय कृषि यन्त्र उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसले कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने मात्र होइन, स्वदेशी प्रविधि र उत्पादनप्रतिको विश्वास पनि बलियो बनाउने विश्वास गरिएको छ।