पशु चिकित्सकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित Veterinary Practitioners’ Association Nepal (VPAN) ले यही २०८२ माघ ९–१० मा “साइटोलोजी तथा बायोप्सी सम्बन्धी दुईदिने कार्यशाला” आयोजना गर्न लागेको छ।काठमाडौंको केन्द्रीय क्षेत्रीय पशु अस्पताल, त्रिपुरेश्वर मा सञ्चालन हुने यस कार्यशालामा प्रख्यात तथा अनुभवी पशु चिकित्सक प्रो. डा. डी. के. सिंह स्रोत व्यक्तिको रूपमा रहनेछन्। उहाँ यस क्षेत्रमा लामो अनुभव र उत्कृष्ट अभ्यासका लागि परिचित हुनुहुन्छ।
कार्यक्रमको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ भने सहभागी संख्या २० जनामा सीमित गरिएको छ। कार्यशालाको दर्ता शुल्क रु. ७,००० तोकिएको छ।VPAN का अनुसार, यो कार्यक्रम विशेषगरी व्यवहारिक ज्ञान, केस–आधारित सिकाइ र डायग्नोस्टिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो, जसबाट फ्रेशर पशु चिकित्सक तथा विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

तर यति महत्वपूर्ण र ज्ञानमूलक कार्यक्रम भए तापनि, कतिपय विद्यार्थी तथा नयाँ पशु चिकित्सक (फ्रेशर) ले भने दर्ता शुल्कप्रति असन्तुष्टिजनाएका छन्। उनीहरूका अनुसार,“कार्यक्रम सिकाइका लागि अत्यन्त उपयोगी छ, स्रोत व्यक्ति पनि उत्कृष्ट हुनुहुन्छ, तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थी र फ्रेशरका लागि रु. ७,००० शुल्क तिर्न गाह्रो छ। यही कारणले चाहँदा–चाहँदै पनि सहभागी हुन सकिरहेका छैनौं।”विद्यार्थी तथा फ्रेशरहरू भन्छन्—
VPAN जस्तो संस्थाले यदि आफ्नो आर्थिक संरचना अलि फरक ढंगले व्यवस्थापन गर्न सके, वा विद्यार्थी तथा फ्रेशरका लागि सहुलियत शुल्कव्यवस्था गर्न सके,“धेरै युवा पशु चिकित्सकहरूले यस्ता उच्चस्तरीय ज्ञान हासिल गर्ने अवसर पाउने थिए।” उनीहरूको बुझाइमा, ज्ञान बाँड्नु नै संस्थाको मूल उद्देश्य हो भने, यस्तो कार्यक्रम अझ समावेशी हुन सके भविष्यमा पेशागत स्तर उकास्न ठूलो योगदान पुग्ने थियो।