चितवन । घरआँगन, खेतबारी र वन क्षेत्रमा सहजै पाइने तितेपाती अब केवल धार्मिक अनुष्ठान वा परम्परागत उपचारको माध्यम मात्र नभई कृषि र स्वास्थ्य क्षेत्रका लागि समेत महत्वपूर्ण वनस्पति बन्न सक्ने संकेत देखिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), रामपुरले गरेको अनुसन्धानले तितेपातीको तेलमा ढुसी नियन्त्रण गर्ने तथा कोलेस्ट्रोल कम गर्न सहयोग गर्ने गुण रहेको पुष्टि गरेको छ।
एएफयूअन्तर्गत कृषि, वनस्पति तथा पर्यावरण संरक्षण विभागका उपप्राध्यापक सरोज सापकोटाले आफ्नो विद्यावारिधि अनुसन्धानका क्रममा तितेपातीमा पाइने रासायनिक तत्त्वहरूको अध्ययन गरेका हुन्। अनुसन्धानबाट तितेपातीको तेलमा रहेका केही जैविक यौगिकहरूले कृषि बालीमा लाग्ने ढुसी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्ने देखिएको छ।
सापकोटाका अनुसार तितेपातीको तेलमा कुल ८६ प्रकारका रासायनिक तत्त्व पहिचान गरिएको छ। तीमध्ये ‘एमोरफिन’ नामक तत्त्वले ढुसीको वृद्धि रोक्न सहयोग गर्ने पाइएको छ भने ‘टर्पेनोइड्स’ नामक तत्त्व मुसामा गरिएको परीक्षणका क्रममा कोलेस्ट्रोल नियन्त्रणमा उपयोगी देखिएको छ।
यद्यपि, मानव स्वास्थ्यमा यसको प्रभावबारे अझै प्रत्यक्ष परीक्षण भइसकेको छैन। अनुसन्धानकर्ताहरूका अनुसार मुसामा सकारात्मक नतिजा देखिएकाले आवश्यक प्रक्रिया पूरा गरी मानवमा समेत परीक्षण गर्ने तयारी भइरहेको छ।
अनुसन्धानका क्रममा चितवनको शक्तिखोरदेखि सिराइचुलीसम्मका विभिन्न उचाइमा उम्रिएका तितेपातीका नमुना संकलन गरिएको थियो। समुद्री सतहबाट २०० मिटरदेखि २ हजार मिटर उचाइसम्मका सात स्थानमा गरिएको अध्ययनले १ हजार ७ सयदेखि १ हजार ८ सय मिटर उचाइमा उम्रिएका तितेपातीमा औषधीय गुण बढी रहेको निष्कर्ष निकालेको छ।
यसले भविष्यमा तितेपातीको व्यावसायिक खेती र तेल उत्पादनको सम्भावना समेत देखाएको अनुसन्धानकर्ताहरू बताउँछन्। सापकोटाका अनुसार यही उचाइका पहाडी क्षेत्रमा तितेपाती खेती विस्तार गर्न सके किसानका लागि आयआर्जनको नयाँ स्रोत बन्न सक्छ।
तितेपातीको तेल उत्पादनका लागि ठूलो परिमाणमा कच्चा पदार्थ आवश्यक पर्छ। एक लिटर तेल निकाल्न करिब एक क्विन्टल तितेपाती प्रयोग हुने बताइएको छ। फूल लाग्न थालेको अवस्थाको तितेपातीबाट गुणस्तरीय तेल उत्पादन हुने अध्ययनले देखाएको छ।
अनुसन्धानले तितेपातीबाट उत्पादन हुने जैविक विषादीले रासायनिक विषादीको विकल्प दिन सक्ने सम्भावना पनि औंल्याएको छ। कृषि क्षेत्रमा ढुसीजन्य रोगका कारण हुने क्षति कम गर्न यसबाट निर्मित जैविक उत्पादन प्रभावकारी हुन सक्ने सापकोटाको भनाइ छ।
एएफयूका प्राध्यापक ईश्वरीप्रसाद कडरियाले तितेपातीको औषधीय उपयोगबारे परम्परागत ज्ञान भए पनि वैज्ञानिक अध्ययनको अभाव रहेको उल्लेख गर्दै यो अनुसन्धानले त्यस खालीपनलाई पूरा गरेको बताए। उनले अनुसन्धानबाट प्राप्त नतिजालाई व्यावसायिक उत्पादन र नीतिगत कार्यान्वयनसँग जोड्न आवश्यक रहेको धारणा राखे।
यस्तै, एएफयू जैविक प्रविधि केन्द्रका निर्देशक हिमाल लुईंटेलले अनुसन्धानले सम्भावना देखाइसकेकाले अब उद्योगी तथा निजी क्षेत्र उत्पादन र बजारीकरणमा अग्रसर हुनुपर्ने बताए।
विशेषज्ञहरूका अनुसार नेपालका वन तथा खुला क्षेत्रमा सहजै फैलिने तितेपातीलाई व्यवस्थित रूपमा उपयोग गर्न सके कृषि, स्वास्थ्य र ग्रामीण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्न सक्छ।