काठमाडौं, १७ वैशाख । दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रहेका पाण्डेलाई गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट उक्त जिम्मेवारी दिइएको हो।
नवनियुक्त महाप्रबन्धक पाण्डेले बिहीबार संस्थानको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। पदभार सम्हालेसँगै उनले किसानको बक्यौता भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेका छन्। उनका अनुसार करिब ५० करोड रुपैयाँ बराबरको बक्यौता आगामी तीन महिनाभित्र भुक्तानी गरिनेछ।
‘पहिलो प्राथमिकता किसानको बाँकी रकम चुक्ता गर्नु हो,’ पाण्डेले बताएका छन्, ‘अब दूध बिक्रीको भुक्तानी १० देखि १५ दिनभित्र किसानले पाउने गरी नियमित प्रणाली विकास गरिनेछ।’
उनको नियुक्तिसँगै संस्थानभित्र प्रशासनिक फेरबदल पनि गरिएको छ। यसअघि निमित्त महाप्रबन्धक रहेका सञ्जीव झा आफ्नो पूर्ववत् जिम्मेवारीमा फर्किएका छन् भने राजेन्द्र अधिकारी नायब महाप्रबन्धक (डीजीएम) को रूपमा पुनः जिम्मेवारीमा आएका छन्।
पाण्डेले बिक्री केन्द्र विस्तार, उत्पादनको गुणस्तर सुधार र उपभोक्ताको विश्वास अभिवृद्धि गर्दै संस्थानलाई घाटामुक्त बनाउने तथा किसान र उपभोक्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।