AgriVet Sanchar

भाइरसभन्दा ठूलो महामारी : बर्ड फ्लुले होइन, भ्रमले थलिँदै नेपालको पोल्ट्री उद्योग

                सम्पादकीय—


११ जिल्लामा सीमित संक्रमण, तर देशभर फैलिएको त्रास—सामाजिक सञ्जालको हल्ला, उपभोगमा गिरावट र आत्मनिर्भर उद्योगमाथि गहिरिँदो संकट

 

काठमाडौं — बिहान ६ बजे। भक्तपुरको एउटा लेयर्स फार्ममा हजारौँ कुखुरा सामान्य दिनझैँ दाना टिपिरहेका छन्। अन्डा संकलन भइरहेको छ। कामदारहरू आफ्नो नियमित काममा व्यस्त छन्।

फार्मभित्र सबै कुरा सामान्य देखिन्छ।

तर फार्मबाहिरको बजार भने सामान्य छैन।

खुद्रा पसलमा ग्राहकको पहिलो प्रश्न अब मूल्य होइन, एउटै हुन थालेको छ—

  “कतै बर्ड फ्लु लागेको त होइन नि?”

कसैले कुखुराको मासु किन्नुभन्दा अगाडि सोच्न थालेका छन्।  कसैले अन्डा खान छाडेका छन्। कतिपय होटलहरूले कुखुराको परिकारको अर्डर घटेको बताएका छन्। सामाजिक सञ्जालमा एकपछि अर्को भिडियो, अपुष्ट सूचना र डर पैदा गर्ने पोस्टहरू भाइरल भइरहेका छन्। केही दिनमै एउटा यस्तो मनोविज्ञान निर्माण भएको छ, मानौँ देशभरका सबै कुखुराहरू संक्रमित छन्।

तर वास्तविकता त्यस्तो होइन।

नेपालमा हालसम्म बर्ड फ्लु (एच–५एन१) को संक्रमण ११ जिल्लामा पुष्टि भएको छ। संक्रमण भेटिएका फार्महरूमा सरकारले कुखुरा, अन्डा र दाना नष्ट गर्ने, आवतजावत नियन्त्रण गर्ने र जैविक सुरक्षा कडा बनाउने काम गरिरहेको छ। आधिकारिक तथ्यांकअनुसार लाखौँ कुखुरा नष्ट गरिएका छन्। तर यो संक्रमण देशव्यापी रूपमा सबै जिल्लामा फैलिएको अवस्था भने होइन।

यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ—

के अहिले नेपालको पोल्ट्री उद्योगलाई बर्ड फ्लुभन्दा ठूलो क्षति भाइरसले गरिरहेको छ?, कि भ्रमले?

पोल्ट्री क्षेत्रका धेरै व्यवसायी, किसान र पशु स्वास्थ्य विज्ञहरू अहिले यही प्रश्न उठाइरहेका छन्।

संक्रमणभन्दा छिटो फैलाइयो डर

हरेक महामारीसँग एउटा अर्को महामारी पनि जन्मिन्छ—अफवाहको।

कोभिडका बेला नुनपानीले भाइरस मर्छ भन्ने देखि बेसारले भाइरस भगाउँछ भन्ने जस्ता अनेक भ्रम फैलिएका थिए। अहिले बर्ड फ्लुको सन्दर्भमा पनि त्यही दृश्य दोहोरिन थालेको छ।

सामाजिक सञ्जालमा तथ्यमा आधारित जनचेतनाभन्दा बढी डर फैलाउने सामग्रीहरू व्यापक रूपमा साझेदारी भइरहेका छन्। केही सामग्रीले सबै कुखुराको मासु असुरक्षित भएको सन्देश दिइरहेका छन्, केहीले अन्डा खानै नहुने दाबी गरिरहेका । धेरैजसो सामग्रीमा वैज्ञानिक आधारभन्दा भावनात्मक प्रभाव बढी देखिन्छ।

पशु स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्, जनचेतना आवश्यक छ, तर जनचेतना र जनत्रास एउटै कुरा होइन।

संक्रमण भएका क्षेत्र पहिचान गरेर नियन्त्रण गर्नु एउटा विषय हो। तर देशभरका उपभोक्तालाई सबै कुखुराको मासु जोखिमपूर्ण छ भन्ने सन्देश पुग्नु अर्कै विषय हो।

त्यसको असर अहिले बजारमा देखिन थालेको छ।


११ जिल्लाको संक्रमण, ७७ जिल्लाको बजार प्रभावित

हालसम्म संक्रमण ११ जिल्लामा पुष्टि भएको छ।

तर उपभोक्ताको व्यवहार हेर्दा यस्तो लाग्छ, मानौँ ७७ वटै जिल्ला संक्रमित छन्।

व्यवसायीहरूका अनुसार संक्रमण नदेखिएका जिल्लाका किसानले पनि अन्डा बिक्री गर्न कठिनाइ भोगिरहेका छन्। ब्रोइलरको माग तीव्र रूपमा घटिरहेको छ।

“हाम्रो फार्ममा रोग नै छैन भने, हाम्रो उत्पादन किन बिक्दैन?”

यो प्रश्नको उत्तर भाइरससँग भन्दा बढी मानिसको मनोविज्ञानसँग जोडिएको छ।

सत्य के हो भने एक पटक डरले बजार समात्यो भने त्यसलाई तथ्यले मात्र हटाउन समय लाग्छ।

आत्मनिर्भर बनेको उद्योग फेरि धराशायी हुने खतरा

नेपालले कृषि क्षेत्रमा पूर्णरूपमा आत्मनिर्भरता हासिल गरेका क्षेत्र धेरै छैनन्।

तर पोल्ट्री त्यसमध्ये एउटा सफल उदाहरण हो।

कुखुराको मासु, अन्डा, दाना उद्योग, ह्याचरी, औषधि, ढुवानी, खुद्रा व्यापारदेखि लाखौँ मानिसको रोजगारीसम्म जोडिएको यो उद्योगले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। विभिन्न अध्ययनले पोल्ट्री क्षेत्रको योगदान राष्ट्रिय कुल गार्हस्थ उत्पादन  मा करिब ४ प्रतिशत तथा कृषि मा झन्डै ८ प्रतिशत रहेको देखाएका छन्।

वर्षौँको लगानी, आधुनिक प्रविधि, आनुवंशिक सुधार र किसानको मेहनतले बनेको यो उद्योग अहिले एउटा नयाँ संकटसँग जुधिरहेको छ—विश्वासको संकट।

किनभने कुनै पनि खाद्य उद्योग उपभोक्ताको विश्वासमा टिकेको हुन्छ।

र विश्वास एक पटक गुम्यो भने त्यसलाई पुनः स्थापित गर्न वर्षौँ लाग्न सक्छ।


संकट भाइरसको मात्र होइन, सूचनाको पनि हो

बर्ड फ्लुसम्बन्धी जनचेतना फैलाउनु सरकारको दायित्व हो।

तर त्यो चेतना वैज्ञानिक आधारमा हुनुपर्छ।

हालै नेपाल टेलिकममार्फत प्रसारण गरिएको बर्ड फ्लुसम्बन्धी रिङटोनलाई लिएर पनि व्यापक बहस भयो। पोल्ट्री व्यवसायीहरूले उक्त सन्देशले आवश्यक सावधानीभन्दा बढी त्रास फैलाएको भन्दै आपत्ति जनाए। त्यसपछि उक्त सन्देश हटाइएको भन्दै उद्योगीहरूले दाबी गरेका छन्, यद्यपि सम्बन्धित निकायले यसको औपचारिक कारण सार्वजनिक गरेको छैन।

यही घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—

जनस्वास्थ्यको सूचना कसरी दिने, जसले जनतालाई सचेत पनि बनाओस् र अनावश्यक डर पनि नफैलाओस्

‘बर्ड फ्लु देखियो’ र ‘सबै कुखुरा संक्रमित भए’ भन्ने एउटै कुरा होइन

बर्ड फ्लुको एउटा घटना सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा धेरैजसो प्रतिक्रिया एउटै देखिन्छ—“अब कुखुराको मासु खानै हुँदैन”, “अन्डा पनि असुरक्षित भयो”, “कुखुरा नै छाडौँ।”

यहीँबाट वास्तविक समस्या सुरु हुन्छ।

पशु स्वास्थ्य विज्ञहरूका अनुसार कुनै एउटा फार्ममा संक्रमण देखिनु र देशभर उत्पादन भएका सबै कुखुरा वा अन्डा असुरक्षित हुनु एउटै कुरा होइन। बर्ड फ्लु पुष्टि भएको फार्म तत्काल सिल गरिन्छ। त्यहाँका कुखुरा, अन्डा र दाना सरकारी मापदण्डअनुसार नष्ट गरिन्छ। संक्रमित उत्पादन बजारसम्म पुग्न नदिन निगरानी संयन्त्र सक्रिय हुन्छ।

अर्थात्, संक्रमण पुष्टि भएका फार्मको उत्पादन र बजारमा नियमित रूपमा पुग्ने स्वस्थ उत्पादनलाई एउटै रूपमा हेर्नु वैज्ञानिक दृष्टिले सही होइन।


उपभोक्ताले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण तथ्य

विश्व स्वास्थ्य संगठन , खाद्य तथा कृषि संगठन  तथा विश्व पशु स्वास्थ्य संगठनले बारम्बार दोहोर्‍याउँदै आएको सन्देश एउटै छ—

“राम्रोसँग पकाइएको कुखुराको मासु र अन्डाबाट बर्ड फ्लु  सर्छभन्ने आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन। “कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथि राम्ररी पकाउँदा भाइरस निष्क्रिय हुने वैज्ञानिक निष्कर्ष छ।नेपाली भान्साको वास्तविकता झन् फरक छ। यहाँ अधिकांश परिवारले कुखुराको मासु उमालेर, फ्राइ गरेर वा लामो समयसम्म पकाएर खाने गर्छन्।व्यावहारिकताको हिसाबले हेर्ने हो भने, हाम्रो भान्सामा पाक्ने मासु १०० डिग्रीदेखि १५० डिग्रीभन्दा माथिको तापक्रममा पाकेको हुन्छ।

त्यसैले जोखिम भनेको काँचो मासुको सेवन वा संक्रमित पशुपन्छीसँगको प्रत्यक्ष सम्पर्क मासुबाट हो, राम्ररी पकाइएको परिकार कारक हुँदैन।

यसको अर्थ सावधानी आवश्यक छैन भन्ने होइन। तर वैज्ञानिक तथ्यभन्दा बाहिर गएर सबै कुखुराको मासु र अन्डालाई असुरक्षित भन्नु पनि सही होइन।


सोसल मिडियामा भ्युज त बढ्यो, तर निराशाको

पछिल्ला केही सातामा फेसबुक, टिकटक, युट्युब र अन्य प्लेटफर्ममा बर्ड फ्लुसम्बन्धी सयौँ सामग्री सार्वजनिक भए।

तर तीमध्ये धेरै सामग्रीमा एउटा समानता देखिन्छ—डर बेच्ने शैली।

कसैले एउटा फार्मको भिडियो राखेर “नेपालभर यस्तै अवस्था छ” भने। कसैले एउटा जिल्लाको घटनालाई देशव्यापी संकटजस्तो गरि प्रस्तुत गरिरहेका छन् र गर्ने क्रम जारी नै छ।कतिपयले कुनै आधिकारिक स्रोत उल्लेख नै नगरी मानिसलाई मासु र अन्डा खान नहुने सुझाव दिन थाले।

यस्तो सामग्री छिटो भाइरल हुन्छ। कारण स्पष्ट छ—डर बेच्न सजिलो हुन्छ, तथ्य बेच्न कठिन।

तर यसको मूल्य कसले तिरिरहेको छ?

उत्तर स्पष्ट छ—किसान।


हजारौँ किसानको पसिनामाथि भ्रमको प्रहार

नेपालको पोल्ट्री उद्योग केवल केही ठूला कम्पनीको व्यवसाय होइन।

यससँग जोडिएका छन्—

  • साना किसान,
  • लेयर्स पालक,
  • ब्रोइलर उत्पादक,
  • ह्याचरी,
  • दाना उद्योग,
  • पशु औषधि व्यवसाय,
  • ढुवानी व्यवसायी,
  • बधशाला,
  • होटल,
  • खुद्रा मासु पसल,
  • अन्डा व्यापारी।

यी सबै मिलेर एउटा ठूलो आर्थिक चक्र निर्माण गर्छन्।

उपभोक्ताले एक दिन मासु नखाँदा किसानलाई त्यति असर नपर्ला। तर लगातार माग घटिरहँदा दैनिक दाना खुवाउनुपर्ने किसानको खर्च भने घट्दैन।

कुखुराले हरेक दिन दाना खान्छ।

औषधि चाहिन्छ।

बिजुली चाहिन्छ।

कामदारको तलब दिनुपर्छ।

बैंकको किस्ता तिर्नुपर्छ।

तर बिक्री रोकिन थाल्यो भने किसानसँग विकल्प हुँदैन।

एकपटक बजार भत्कियो भने उठ्न वर्षौँ लाग्न सक्छ

नेपालको पोल्ट्री क्षेत्रले दशकौँको लगानीपछि आजको अवस्था बनाएको हो।

आधुनिक फार्म, स्वदेशमै दाना उत्पादन, आनुवंशिक सुधार, प्राविधिक जनशक्ति, रोग नियन्त्रण प्रणाली—यी सबै रातारात बनेका होइनन्।

तर बजारमा एकपटक विश्वास गुम्यो भने त्यो फर्काउन धेरै समय लाग्छ।

व्यवसायीहरूको चिन्ता पनि यही हो।

यदि उपभोक्ताले वैज्ञानिक तथ्यभन्दा सामाजिक सञ्जालका अपुष्ट सामग्रीलाई बढी विश्वास गर्न थाले भने, यसको असर केही साताको व्यापारमा मात्र सीमित रहने छैन। यसले नयाँ लगानी रोकिन सक्छ, उत्पादन घट्न सक्छ र अन्ततः विदेशी आयाततर्फ निर्भरता बढ्न सक्छ।

नेपालले आत्मनिर्भर भएको एउटा सीमित कृषि क्षेत्र फेरि कमजोर बन्ने जोखिम यहीँ छ।

वास्तविक लडाइँ कहाँ हुनुपर्छ?

अहिले लडाइँ कुखुराको मासुसँग होइन।

लडाइँ हुनुपर्छ

  • संक्रमित फार्म पहिचानमा,
  • जैविक सुरक्षा कडाइमा,
  • कुखुरा ढुवानीको निगरानीमा,
  • बधशालाको स्वच्छतामा,
  • कामदारको सुरक्षामा,
  • तथ्यमा आधारित जनचेतनामा,
  • र अफवाह नियन्त्रणमा।

किनभने कुनै पनि महामारीमा गलत सूचना आफैँ अर्को महामारी बन्न सक्छ।

र कहिलेकाहीँ त्यसले रोगले भन्दा ठूलो आर्थिक क्षति पुर्‍याउँछ।

सरकारको चुनौती भाइरस नियन्त्रण मात्र होइन, विश्वास जोगाउनु पनि हो

कुनै पनि संक्रामक रोग फैलिँदा सरकारको पहिलो दायित्व रोग नियन्त्रण हो। तर त्यससँगै अर्को उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी हुन्छ—सही सूचना प्रवाह गरेर जनताको विश्वास कायम राख्नु।

नेपालमा बर्ड फ्लु नियन्त्रणका लागि संक्रमित फार्म सिल गर्ने, कुखुरा नष्ट गर्ने, आवतजावत नियन्त्रण गर्ने र निगरानी बढाउने काम भइरहेको छ। यी कदम आवश्यक थिए र छन्।

तर सूचना व्यवस्थापनको पाटो भने अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन।

जनचेतना फैलाउने उद्देश्यले दिइने सन्देशले यदि आम नागरिकमा ‘अब कुखुराको मासु खानै हुँदैन’ भन्ने मनोविज्ञान निर्माण गरिदियो भने त्यसले रोग नियन्त्रणभन्दा बढी आर्थिक संकट निम्त्याउन सक्छ।जनस्वास्थ्यको सन्देश सधैं वैज्ञानिक, सन्तुलित र सन्दर्भसहित हुनुपर्छ। “सावधानी अपनाऔँ” र “सबै उत्पादन असुरक्षित छन्” भन्ने दुई फरक सन्देश हुन्। दुर्भाग्यवश, पछिल्ला केही सातामा यी दुईबीचको रेखा धेरै ठाउँमा धमिलो भएको देखिन्छ।


सञ्चार माध्यमको परीक्षा पनि यही हो

समाचारको उद्देश्य डर बेच्नु होइन, तथ्य प्रस्तुत गर्नु हो।

तर पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बढेसँगै ‘पहिला पोस्ट गर, पछि पुष्टि गर’ भन्ने प्रवृत्ति मौलाएको छ। एउटा भिडियो, एउटा फोटो वा एउटा अपुष्ट सूचना केही मिनेटमै लाखौँ मानिससम्म पुग्छ।

अझ चिन्ताको विषय के छ भने बर्ड फ्लुजस्तो प्राविधिक विषयमा पशु स्वास्थ्यको ज्ञान वा अनुभव नभएका व्यक्तिहरू पनि आफैं विज्ञजस्तै निष्कर्ष सुनाइरहेका छन्। केही सामग्रीले सचेतना फैलाए पनि धेरैले अनावश्यक त्रास बढाएका छन्।

सञ्चार माध्यमले पनि एउटा घटना देखाएर सम्पूर्ण उद्योगलाई दोषी ठहर गर्नु हुँदैन। पत्रकारिताको धर्म भनेको संक्रमण भएको ठाउँ देखाउनु पनि हो र संक्रमण नभएको यथार्थ देखाउनु पनि हो।

यदि तथ्यभन्दा ‘क्लिक’ ठूलो बन्यो भने त्यसको मूल्य किसानले तिर्छ।


एउटा उद्योगमात्र होइन, एउटा आर्थिक चक्र जोखिममा छ

नेपालको पोल्ट्री उद्योग भनेको कुखुरा बेच्ने व्यवसाय मात्र होइन। पोल्ट्री उद्योग कमजोर हुँदा असर एउटा फार्ममा सीमित रहँदैन। त्यसको कम्पन सम्पूर्ण कृषि अर्थतन्त्रमा महसुस हुन्छ।

नेपालले धेरै वर्षपछि आत्मनिर्भरता नजिक पुगेको एउटा कृषि क्षेत्र यदि अफवाहकै कारण कमजोर भयो भने त्यसको मूल्य भविष्यले चुकाउनुपर्नेछ।


अब के गर्नुपर्छ?

सरकारले संक्रमण नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्छ। क्षतिपूर्ति वितरण छिटो गर्नुपर्छ। प्रत्येक जिल्लामा नियमित परीक्षण र निगरानी बढाउनुपर्छ।

पोल्ट्री उद्योगले पनि आफ्नो जिम्मेवारीबाट पछि हट्न मिल्दैन। फार्ममा बायोसिक्युरिटी कडाइका साथ लागू गर्नुपर्छ। रोग लुकाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ। उपभोक्तासँग पारदर्शी संवाद गर्नुपर्छ।

सञ्चार माध्यमले सनसनीभन्दा तथ्यलाई प्राथमिकता दिनुपर्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अपुष्ट सामग्री सेयर गर्नुअघि एकपटक आधिकारिक स्रोत हेर्नुपर्छ।

र उपभोक्ताले पनि एउटा कुरा सम्झनुपर्छ—

डरले होइन, तथ्यले निर्णय गर्नुपर्छ।

अन्तिम प्रश्न………………………?

यो व्यवसाय अहिले बर्ड फ्लुसँग लडिरहेको छ।

तर सायद त्योभन्दा ठूलो लडाइँ भ्रमविरुद्ध लड्नुपर्ने भएको छ।

किनभने भाइरस केही जिल्लामा सीमित हुन सक्छ।

तर गलत सूचना सीमाना मान्दैन।

त्यो फेसबुकको एउटा पोस्टबाट सुरु हुन्छ, टिकटकको एउटा भिडियोबाट फैलिन्छ, परिवारको एउटा कुराकानीमा पुग्छ र अन्ततः बजारको एउटा निर्णय बन्छ।

त्यसपछि किसानको पसिना सुक्छ।

उद्योगको चक्र रोकिन्छ।

र एउटा आत्मनिर्भर क्षेत्र आफ्नै नागरिकको डरको बन्दी बन्न पुग्छ।

बर्ड फ्लुलाई हल्का रूपमा लिन मिल्दैन। तर बर्ड फ्लुभन्दा ठूलो महामारी भ्रम बन्न दिनु पनि हाम्रो हितमा छैन।

आज आवश्यकता कुखुराको मासु बहिष्कार गर्ने होइन, संक्रमित कुखुरा र गलत सूचना—दुवैलाई नियन्त्रण गर्ने हो।

किनभने तथ्यले मात्र रोग नियन्त्रण गर्छ, अफवाहले भने उद्योग नै मार्न सक्छ। 

डा. शक्ति भट्टराई, पशु चिकित्सक

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.