AgriVet Sanchar

कर्णाली प्रदेशमा छैन व्यवसायिक कुखुरा पालनको रौनक

काठमाडौं, ६ चैत — नेपालका किसानहरू बीच व्यावसायिक कुखुरापालनले नयाँ उचाइ पाउँदैछ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार देशका ७५ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा व्यावसायिक फार्म सञ्चालनमा छन्।

सर्वेक्षणले देखाएको छ कि हाल २२ हजार ९२८ फार्म वा किसानहरू व्यावसायिक रूपमा कुखुरा पालनमा संलग्न छन्। यसको अधिकांश २१ हजार १०४ फार्म मासु उत्पादनमा केन्द्रित छन् भने १ हजार ७०६ फार्म अण्डा उत्पादनमा सक्रिय छन्। ११८ फार्म चल्ला उत्पादनमा जोड दिइरहेका छन्। यद्यपि, करिब ६३.७ प्रतिशत फार्म मात्र दर्ता भएका छन्।

व्यावसायिक कुखुरापालनमा पुरुष उद्यमीको प्रभुत्व स्पष्ट छ। कुल फार्ममध्ये ७९.५ प्रतिशत पुरुष र २०.५ प्रतिशत महिला सञ्चालनमा छन्। फार्मको ९८ प्रतिशत व्यक्तिगत स्वामित्वमा रहेको देखिएको छ। अनुभवको हिसाबले अधिकांश फार्म पाँचदेखि १० वर्षसम्म स्थिर रहेको पाइएको छ।

शिक्षा स्तरको दृष्टिले, ५२.२ प्रतिशत उद्यमीले माध्यामिक तहको शिक्षा प्राप्त गरेका छन्। यो तथ्यले देखाउँछ कि व्यावसायिक कुखुरापालनमा शिक्षित जनशक्तिको योगदान बढ्दो छ।

आर्थिक दृष्टिले, कुखुरापालन व्यवसायले देशको अर्थतन्त्रमा ठूला योगदान पुर्याइरहेको छ। मासु उत्पादनबाट वार्षिक करिब ६० अर्ब ९६ करोड रुपैयाँको कारोबार भइरहेको छ। अण्डाबाट १४ अर्ब ८२ करोड, चल्लाबाट १० अर्ब २२ करोड, र कुखुराको मलबाट करिब १ अर्ब रुपैयाँ आम्दानी भइरहेको तथ्यांकले देखाउँछ।

तर जोखिम व्यवस्थापन र तालिममा सुधारको आवश्यकता छ। देशभरका फार्ममध्ये केवल ४.१ प्रतिशतले मात्र बीमा गराएका छन् भने ३४.१ प्रतिशत उद्यमीले मात्र तालिम लिएर व्यवसाय सञ्चालन गरेका छन्।

प्रदेशगत वितरण अनुसार, बागमती प्रदेशमा सबैभन्दा बढी ३४.४ प्रतिशत फार्म छन् भने सुदूरपश्चिम प्रदेशमा ७.९ प्रतिशत फार्म सञ्चालनमा छन्। अघिल्लो सर्वेक्षणको तुलनामा सामान्य रूपमा फार्मको संख्या बढेको छ।

विशेषज्ञहरू भन्छन्, व्यावसायिक कुखुरापालनले केवल ग्रामीण अर्थतन्त्रमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नु मात्र होइन, राष्ट्रिय खाद्य सुरक्षा र प्रोटिन आपूर्तिमा पनि ठूलो भूमिका खेलेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.