गैँडाकोट नगरपालिकाभित्र पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर (ASF) रोग तीव्र रूपमा फैलिएको छ। पशुसेवा कार्यालय गैँडाकोटका अनुसार आज दिउँसोसम्म सयौँ मरे थप ४४० वटा बङ्गुर बिरामी परेका छन्।
पशुसेवा शाखा प्रमुख डा. प्रमोद पौडेलका अनुसार गैँडाकोट नगरपालिका–१, ३, ७ र ९ नम्बर वडामा रोग फैलिएको हो।
“एउटै वडामा मात्र करिब १५० वटा बङ्गुर मरेका छन्,” उनले बताए, “यस रोगका कारण तीन जना कृषकका बङ्गुर फार्म पूर्ण रूपमा रित्तिएका छन्।”बङ्गुरमा असामान्य लक्षण देखिएर मर्न थालेपछि पशुसेवा शाखा र जिल्लाको टोलीले माघ १४ गते गैँडाकोट–७ स्थित एक फार्मबाट नमुना सङ्कलन गरी काठमाडौँ पठाएको थियो।आज प्राप्त पीसीआर रिपोर्टमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको डा. पौडेलले जानकारी दिए।जिल्लामा अफ्रिकन स्वाइन फिभर देखिएपछि यसलाई थप फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय नवलपुरकी प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा. शर्मिला कुमालले जानकारी दिइन्।उनले उच्च जोखिममा रहेका सुँगुर तथा बङ्गुरपालक कृषकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिन्।“बङ्गुरमा माथिका लक्षण देखिएमा तुरुन्तै नजिकको पशुसेवा कार्यालयमा सम्पर्क गर्नुहोस्,” उनले भनिन्।
पशुसेवा कार्यालय नवलपुरका अनुसार हाल जिल्लामा करिब १८ हजार ३१८ वटा बङ्गुर पालिएका छन्।