AgriVet Sanchar

देशभर बर्ड फ्लूको चिन्ता, चैतमै २३ स्थान प्रभावित

यस वर्ष चैत महिनामा मात्र देशका २३ स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार यस वर्ष चैतअघि बर्ड फ्लू देखिएको थिएन भने पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैसाथ संक्रमण पुष्टि भएको हो। त्यसपछि संक्रमण सुनसरीका १२, मोरङका ७, झापाका २, चितवनका १ र काठमाडौंका १ स्थानमा फैलिएको उनले जानकारी दिए। यद्यपि, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिएर रोग थप फैलिन नदिइएको दाहालको भनाइ छ।

उनका अनुसार हालसम्म करिब एक लाख चार हजार कुखुरा तथा हाँस नष्ट गरिएको छ। काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरमा कागमा समेत बर्ड फ्लू संक्रमण पुष्टि भएको थियो। सुनसरी, झापा र मोरङमा संक्रमण फैलिन थालेपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

‘बर्ड फ्लू देखिएका क्षेत्रलाई तत्काल संक्रमित क्षेत्र घोषणा गरी आकस्मिक रोग अन्वेषण टोली परिचालन गरेर संक्रमित तथा जोखिममा रहेका पशुपक्षी नष्ट गर्ने कार्य गरिएको छ,’ दाहालले बताए। उनका अनुसार नियन्त्रणका उपाय प्रभावकारी भएकाले धेरै नमूनामा संक्रमण देखिएको छैन।

सरकारले बर्ड फ्लू पुष्टि भएका स्थानमा कुखुरा तथा हाँस नष्ट गर्ने नीति लिएको छ भने प्रभावित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.