मकवानपुर। मकवानपुर को शान्त गाउँ चापाखर्कमा एउटा यस्तो घटना भयो, जसले किसान मात्र होइन, गाउँभरिका स्थानीयलाई पनि अचम्ममा पार्यो। वर्षौँको मेहनतपछि फल्न थालेको बुद्धचित्तको रूख एकै रातमा लुटियो। बिहान उठेर बारी पुगेका सुनिल मोक्तानले देखेको दृश्यले उनको मन नै भाँचियो। रूखका हाँगाहरू भाँचिएका थिए, अनि दानाले भरिएको रूख लगभग खाली बनाइएको थियो।
कैलाश गाउँपालिका–१ चापाखर्कका मोक्तानले करिब १५ वर्षअघि काभ्रेबाट बुद्धचित्तको बिरुवा ल्याएर आफ्नै बारीमा रोपेका थिए। लामो प्रतीक्षापछि केही वर्षदेखि मात्रै रूखले राम्रोसँग दाना दिन थालेको थियो। यस वर्ष त अघिल्लो वर्षभन्दा अझ धेरै उत्पादन भएको भन्दै उनी निकै उत्साहित थिए।
त्यही उत्साहका बीच उनले काभ्रेका एक व्यापारीसँग रूखका सबै दाना बिक्री गर्ने सहमति गरेका थिए। करिब १२ लाख रुपैयाँमा भएको सम्झौताअनुसार पाँच लाख रुपैयाँ अग्रिमसमेत लिइसकेका थिए। तर, बाँकी रकम आउने आशा बोकेको त्यो रूख नै रातारात लुटिएपछि उनको योजना एकाएक धराशायी बन्यो।
मोक्तानका अनुसार असार १५ गते राति परिवारका सबै सदस्य सुतेपछि चोरहरू बारीमा पुगेका रहेछन्। उनीहरूले दाना मात्रै टिपेनन्, हाँगासमेत भाँच्दै रूखमा रहेका अधिकांश दाना बोकेर फरार भए। बिहान बारीमा पुग्दा रूखको अवस्था देखेर आफू स्तब्ध भएको उनले बताए।
उनको अनुमानमा करिब सात लाख रुपैयाँ बराबरका बुद्धचित्तका दाना चोरी भएका छन्। व्यापारीलाई सम्झौताअनुसार दाना उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएकाले आर्थिक क्षतिसँगै उनी मानसिक तनावमा पनि परेका छन्।
गत वर्ष यही रूखबाट प्राप्त दाना बिक्री गरेर उनले करिब आठ लाख रुपैयाँ आम्दानी गरेका थिए। सुरुका वर्षहरूमा भने बुद्धचित्तको बजार मूल्यबारे जानकारी नभएकाले उनले यसको दाना लामा तथा धार्मिक व्यक्तिहरूलाई निःशुल्क दिने गरेका थिए। पछिल्ला दुई वर्षदेखि मात्रै यसको व्यावसायिक बिक्री सुरु गरेका हुन्।
हाल मोक्तानको बारीमा एउटा परिपक्व रूखसहित २२ वटा बुद्धचित्तका बिरुवा छन्। तीमध्ये अधिकांश तीन वर्षअघि रोपिएका हुन् र आगामी वर्षहरूमा उत्पादन दिने अपेक्षा गरिएको छ।
घटनापछि उनले डाँडाखर्क प्रहरी चौकीमा उजुरी दर्ता गराउँदै चोरीमा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाही गर्न माग गरेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
पछिल्ला वर्षहरूमा बुद्धचित्तका दानाको बजार मूल्य बढ्दै गएपछि मकवानपुरका कैलाश, मकवानपुरगढी, राक्सिराङ तथा थाहा नगरपालिकाका विभिन्न किसानले पनि यसको खेती विस्तार गर्न थालेका छन्। यही बढ्दो मूल्यका कारण यस्ता चोरीका घटना दोहोरिन सक्ने भन्दै स्थानीय किसानले सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।