AgriVet Sanchar

बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा पुगेको क्षति आकलन गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनसँगै कृषि तथा पशुपन्छी क्षेत्रमा पुगेको क्षतिको तत्काल आकलन तथा आवश्यक उद्धार र नियन्त्रणका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले विभिन्न निर्णय गरेको छ।

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको अध्यक्षतामा मन्त्रालय तथा मातहतका विभागीय प्रमुखहरूको उपस्थितिमा २०८३/०५/१० गते बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत, क्षति आकलन तथा पशु स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो।

बैठकले बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

बाढीबाट बाली, पशुवस्तु, माछा, कृषि पूर्वाधार तथा सरकारी संरचनामा पुगेको हानी–नोक्सानीको यथार्थ विवरण संकलन तथा मूल्यांकन गर्न द्रुत प्रतिक्रिया टोली (Rapid Response Team) परिचालन गर्ने निर्णय गरिएको छ। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्थाको मूल्यांकन गरी क्षतिको विवरण संकलन गर्नेछ।

यसैगरी, बाढी तथा पहिरोका कारण घाइते भएका पशुवस्तुको तत्काल औषधोपचार तथा आवश्यक पशु स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष पहल गरिने भएको छ। बाढीका कारण पशुचौपायाको आवतजावत तथा एक–अर्कासँगको सम्पर्क बढ्न सक्ने र त्यसबाट संक्रामक रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउने निर्णय पनि बैठकले गरेको छ।

पशु स्वास्थ्यसम्बन्धी रोकथाम तथा नियन्त्रणका आवश्यक उपाय तत्काल अवलम्बन गर्न पशु सेवा विभागको संयोजकत्वमा विशेष टोली परिचालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

बैठकले विषम परिस्थितिमा सम्बन्धित सबै निकायले सही, तथ्यपरक र समन्वयात्मक सूचना प्रवाह गर्नुपर्नेमा समेत जोड दिएको छ। साथै, प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन सम्बन्धित निकायहरूबीच समन्वय गर्ने तथा विकास साझेदार संस्था र अन्य सरोकारवालासँग समेत आवश्यक सहयोगका लागि सहकार्य गर्ने निर्णय गरिएको छ।

बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा पर्न सक्ने थप जोखिमलाई न्यूनीकरण गर्दै प्रभावित किसान तथा पशुपालकलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारका सम्बन्धित निकायहरूलाई तत्काल परिचालन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.