AgriVet Sanchar

गाई नपालेरै दूधको प्रोटिन उत्पादन गर्ने प्रविधि विकास, इजरायली वैज्ञानिकको दाबी

तेल अभिभ । इजरायलका वैज्ञानिकहरूले गाईको दूधमा पाइने प्रमुख प्रोटिनमध्ये एक बेटा–केसिन बोटमै उत्पादन गर्न सकिने प्रविधि विकास गरेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार यो प्रविधिले भविष्यमा पशुपालनबिनै डेरी उद्योगका लागि आवश्यक प्रोटिन उत्पादन गर्ने सम्भावना देखाएको छ।

जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले आनुवंशिक प्रविधिको प्रयोग गर्दै यस्तो उपलब्धि हासिल गरेका हुन्। उनीहरूले सुरुमा Arabidopsis thaliana नामक सानो बोटमा बेटा–केसिन उत्पादन हुने गरी आनुवंशिक परिवर्तन गरेका थिए। त्यसपछि यही अवधारणालाई तेल उत्पादनका लागि प्रयोग हुने तथा सुख्खा वातावरणमा पनि हुर्कन सक्ने साफ्लावरमा परीक्षण गरिएको थियो।

अनुसन्धानका क्रममा वैज्ञा3निकहरूले साफ्लावरका बियाँमा बेटा–केसिन उत्पादन हुने गरी आवश्यक जीन समावेश गरेका थिए। परीक्षणपछि बियाँभित्र बनेको प्रोटिन प्राकृतिक दूधमा केसिन जम्मा हुने संरचनासँग मिल्दोजुल्दो रूपमा भण्डारण भएको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

सबैभन्दा प्रभावकारी नतिजा दिने साफ्लावरको बियाँमा कुल घुलनशील प्रोटिनमध्ये करिब १.२६ प्रतिशत बेटा–केसिन पाइएको थियो। अनुसन्धान टोलीका अनुसार बोटमा केसिन उत्पादन गर्ने यसअघिका प्रयासको तुलनामा यो मात्रा उल्लेखनीय हो।

चिज उत्पादनमा समेत उपयोगी हुने अपेक्षा

बेटा–केसिन दूधको संरचनामा महत्वपूर्ण भूमिका खेल्ने प्रोटिन हो। विशेषगरी चिज जमाउने, पग्लिने प्रक्रिया र अन्तिम बनावट कायम राख्न यसको योगदान महत्वपूर्ण मानिन्छ। यसले पोषणका दृष्टिले पनि भूमिका खेल्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

अनुसन्धान टोलीका प्रमुख प्राध्यापक ओदेद शोसेयोभका अनुसार साफ्लावरका बियाँलाई प्रेस गरेपछि प्राप्त मिश्रणबाट प्रोटिन छुट्याउन सकिन्छ। त्यसपछि सेन्ट्रिफ्युजको प्रयोग गरी प्रोटिनयुक्त ‘क्रिम’ र अन्य ठोस पदार्थ अलग गर्ने प्रक्रिया अपनाउन सकिने उनले बताएका छन्।

डेरी उद्योगको वातावरणीय प्रभाव घटाउने लक्ष्य

वैज्ञानिकहरूले यो प्रविधि सफल रूपमा व्यावसायिक स्तरमा विस्तार गर्न सके परम्परागत डेरी उत्पादनमा निर्भरता घटाउन सकिने सम्भावना औंल्याएका छन्। पशुपालनका कारण हुने हरितगृह ग्यास उत्सर्जन, जमिन तथा पानीको प्रयोगजस्ता वातावरणीय दबाब कम गर्न पनि यस्तो प्रविधिले योगदान पुर्‍याउन सक्ने उनीहरूको दाबी छ।

प्राध्यापक शोसेयोभका अनुसार आनुवंशिक प्रविधिमार्फत दूधका आवश्यक प्रोटिन उत्पादन गर्ने जीनलाई अझ प्रभावकारी जीव वा बोटमा प्रयोग गर्न सकिन्छ। यसबाट कम स्रोतमा बढी प्रोटिन उत्पादन गर्दै उत्पादनसँग जोडिएको वातावरणीय प्रभाव घटाउने सम्भावना रहन्छ।

विश्वको डेरी बजार ठूलो भएकाले बोटबाट दूधका प्रोटिन उत्पादन गर्ने प्रविधिको व्यावसायिक सम्भावना समेत उल्लेखनीय रहेको अनुसन्धानकर्ताहरूको विश्वास छ।

तर वैज्ञानिकहरूले विकास गरेको प्रविधि तत्कालै गाईको दूधको पूर्ण विकल्प भने बनिसकेको छैन। उत्पादनको मात्रा बढाउने, लागत घटाउने र खाद्य उत्पादनका लागि आवश्यक परीक्षण तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने चुनौती अझै बाँकी छन्।

 

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.