AgriVet Sanchar

ललितपुरमा राष्ट्रिय बाली प्रजनन् र बीउ विज्ञान सम्मेलन सुरु:कृषि जैविक विविधता संरक्षणमा जोड

ललितपुरको खुमलटारमा पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश तथा बीउ विज्ञान सम्मेलन मंगलबारदेखि प्रारम्भ भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन)को आयोजनामा तथा जिन बैंक, लिबर्ड, अक्सफामलगायत विभिन्न संघसंस्थाको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनको उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधताको संरक्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। कृषिमा देखिएका चुनौतीहरूको समाधान अनुवंशमा आधारित अनुसन्धानबाट मात्र सम्भव हुने बताउँदै उहाँले सशक्त बाली प्रजननमार्फत कृषि क्षेत्रमा गरिएको लगानीलाई लाभदायी बनाउने नीतिगत सुझाव सम्मेलनबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिमल्सिनाले बाली प्रजनन् र बीउ विज्ञानले कृषिमा रूपान्तरण ल्याउन सक्ने भन्दै बजार तथा उपभोक्ताको आवश्यकतालाई केन्द्रमा राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो। यस्ता अनुसन्धानमा सरकारी, निजी तथा अन्य सरोकारवाला निकायको संयुक्त सहभागिता अपरिहार्य रहेको र नार्क बहुपक्षीय सहकार्यमा आधारित ठूला परियोजना सञ्चालनतर्फ अग्रसर रहेको उहाँको भनाइ थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदीले जलवायु परिवर्तन र अनुवंश संरक्षणजस्ता साझा विश्वव्यापी चुनौतीहरूको समाधानका लागि सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालमा प्रकृति संरक्षण कोष र नार्कबीचको सहकार्यलाई अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

त्यसैगरी पिबाग्सनका अध्यक्ष डा. बालकृष्ण जोशीले देशमा उपलब्ध अनुवंश स्रोतको प्रभावकारी उपयोग आवश्यक रहेको र यस विषयलाई राष्ट्रिय नीतिको रूप दिनुपर्ने धारणा राख्नुभयो। सम्मेलनका अवसरमा कृषि मन्त्री परियारले टप साइटेड रिसर्च पुरस्कार जीवन श्रेष्ठलाई, गोल्डेन सिड पुरस्कार डा. दामोदर पौडेललाई र बाली प्रजनन् पुरस्कार डा. राजेन्द्र दराईलाई प्रदान गर्नुभयो।

भोलिसम्म सञ्चालन हुने सम्मेलनमा सात वटा सेसनमार्फत ३२ वटा कार्यपत्र प्रस्तुत गरिनुका साथै ३६ वटा पोस्टर प्रदर्शनी राखिने राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सम्मेलनमा विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, कृषि प्रसारक, व्यवसायी तथा किसानको उल्लेखनीय सहभागिता रहेको छ भने विभिन्न संस्था र उत्पादकका १८ वटा प्रदर्शनी स्टलसमेत राखिएका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.