AgriVet Sanchar

सुदूरपश्चिमका तीन स्थानीय तहमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि बङ्गुरपालक किसानहरूमा चिन्ता बढेको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले स्थानीय फार्महरूबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट सङ्क्रमणको सङ्केत देखिएको थियो। त्यसपछि थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको थियो, जहाँ पीसीआर परीक्षणबाट रोगको आधिकारिक पुष्टि गरिएको हो।

प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार हालसम्म धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिकाकृष्णपुर नगरपालिकाका किसानले पालेका बङ्गुरहरूमा संक्रमण देखिएको छ। उनले रोग अझै प्रारम्भिक चरणमै रहेको भए पनि समयमै सावधानी नअपनाए ठूलो आर्थिक क्षति हुन सक्ने चेतावनी दिएका छन्। संक्रमित फार्मका किसानलाई सचेत गराइएको र रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।

यो रोग भाइरसका कारण लाग्ने अत्यन्तै सङ्क्रामक र घातक महामारी हो, जसले घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेललाई असर गर्छ। संक्रमण फैलिएको अवस्थामा पूरै बथान नष्ट हुने र किसानको वर्षौंको लगानी एकैपटक समाप्त हुने जोखिम रहने जोशीले उल्लेख गरे।

पशु अधिकृत रामप्रसाद भट्टका अनुसार संक्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने, दाना-पानी खान छोड्ने, कमजोर हुने, झोक्रिने र अस्वाभाविक व्यवहार देखाउने जस्ता लक्षण देखिन्छन्। साथै कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रातो वा नीलो धब्बा देखिनु यस रोगको प्रमुख संकेत हो।

अधिकारीहरूले किसानलाई जैविक सुरक्षा उपाय अपनाउन, संक्रमित पशु छुट्टै राख्न र शंका लागेमा तुरुन्त पशु स्वास्थ्य कार्यालयमा जानकारी दिन आग्रह गरेका छन्, ताकि संक्रमण थप फैलिन नपाओस्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.