पर्वत-भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले व्यावसायिक रूपमा गाईभैँसीपालन गर्दै आएका किसानका लागि गोठमै पुगेर थुनेलो रोगको परीक्षण र उपचार सेवा सुरु गरेको छ। दूध उत्पादनमा असर नपरोस् भन्ने उद्देश्यले जिल्लाभरका स्थानीय तहसँग समन्वय गरी यो अभियान सञ्चालन गरिएको हो।
कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठ का अनुसार प्राविधिक टोली किसानको गोठमै पुगेर गाईभैँसीको स्वास्थ्य जाँच, थुनेलो परीक्षण तथा आवश्यक औषधि उपचार गरिरहेको छ। पहिलो चरणमा विहादी, पैँयू, मोदी र जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेर करिब ५०० गाईभैँसीको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १५० पशुमा थुनेलो संक्रमण देखिएको र तिनलाई निःशुल्क औषधि उपलब्ध गराइएको जनाइएको छ।
थुनेलो परीक्षणसँगै गर्भ परीक्षण, कृत्रिम गर्भाधानसम्बन्धी समस्या समाधान तथा अन्य प्राविधिक परामर्श पनि प्रदान गरिएको छ। प्राविधिक सेवा गोठमै उपलब्ध भएपछि किसानहरूलाई समय र खर्च दुवै बचत भएको प्रतिक्रिया दिएका छन्।
जलजला–८ फर्सेका किसान भक्तबहादुर केसी ले विगतमा यस्ता रोग लाग्दा उपचार अभावमा भैँसी बिक्री गर्नुपरेको वा गाई छाड्नुपर्ने अवस्था आउने गरेको स्मरण गर्दै अहिले सहज रूपमा उपचार पाउँदा राहत मिलेको बताए।
कार्यालयले दोस्रो चरणमा फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा रहेका व्यावसायिक फार्महरूमा पुगेर सेवा विस्तार गर्ने योजना बनाएको छ। कृषकलाई लक्षित गर्दै हरेक वर्ष दुई चरणमा गाईभैँसी तथा बाख्राको स्वास्थ्य परीक्षण गरिँदै आएको र जिल्लाका पशुचौपायालाई पूर्ण खोप लगाइसकिएको कार्यालयले जनाएको छ।