AgriVet Sanchar

अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि कमिला लैजान खोज्दा चिनियाँ नागरिक पक्राउ

केन्याको राजधानी नैरोबीस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजारभन्दा बढी जीवित कमिला तस्करी गर्न खोजेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

अधिकारीहरूका अनुसार २७ वर्षीय चिनियाँ नागरिक झाङ केकुनलाई नैरोबीको जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनी चीन फर्कने तयारीमा रहेका बेला उनको सामानमा ठूलो परिमाणमा जीवित कमिला भेटिएको बताइएको छ।

जाँचका क्रममा उनको सुटकेसबाट करिब २ हजारभन्दा बढी ‘क्वीन’ प्रजातिका कमिला फेला परेका थिए। तीमध्ये अधिकांशलाई स–साना टेस्ट ट्युबभित्र राखिएको थियो भने केहीलाई टिस्यु पेपरमा बेरेर लुकाइएको अवस्थामा बरामद गरिएको थियो।

प्रहरी तथा वन्यजन्तु अधिकारीहरूका अनुसार यस्ता कमिला अन्तर्राष्ट्रिय बजारमा निकै माग हुने भएकाले अवैध रूपमा तस्करी हुने गरेको छ। विशेषगरी युरोप र एसियाका केही सङ्कलकहरूले ‘फर्मिकेरियम’ नामक कृत्रिम संरचनामा कमिलाको बस्ती पाल्नका लागि क्वीन कमिलाको खोजी गर्ने गरेका छन्। एउटै क्वीन कमिलाबाट पूरा बस्ती सुरु गर्न सकिने भएकाले यसको मूल्य उच्च हुने बताइन्छ।

अधिकारीहरूले यो घटनाले वन्यजन्तु तस्करीको नयाँ स्वरूप देखाएको बताएका छन्। पहिले हात्ती, गैंडा वा दुर्लभ जनावरहरूमा केन्द्रित तस्करी अहिले साना तर पारिस्थितिक रूपमा महत्त्वपूर्ण जीवहरूतर्फ पनि फैलिएको उनीहरूको भनाइ छ।

वैज्ञानिकहरूका अनुसार यस्ता कमिलाहरू माटोको उर्वरता, बीउको प्रसार तथा पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण हुन्छन्। त्यसैले ठूलो संख्यामा प्राकृतिक बासस्थानबाट निकालिँदा स्थानीय वातावरणमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिइएको छ।

यस घटनासँग अन्तर्राष्ट्रिय तस्करी सञ्जाल जोडिएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका व्यक्तिका मोबाइल तथा अन्य डिजिटल उपकरण पनि परीक्षणका लागि जफत गरिएको छ।

केन्याको वन्यजन्तु संरक्षण कानुनअनुसार यस्ता जीवहरूको अवैध व्यापारमा संलग्न पाइए कडा सजायको व्यवस्था रहेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.