काठमाडौं। कुखुरा पालन क्षेत्रमा लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (H9) को जोखिम बढ्दै गएको भन्दै पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एक सूचना जारी गर्दै किसानलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। विभागले कुखुरा फार्महरूमा जैविक सुरक्षा (बायोसेक्युरिटी) उपायहरू कडाइका साथ लागू गर्न विशेष निर्देशन दिएको छ।
विभागका अनुसार एभियन इन्फ्लुएन्जा भाइरस कुखुरा लगायत विभिन्न पन्छीमा देखिने संक्रामक रोग हो। यो रोग संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, संक्रमित पन्छीजन्य पदार्थ, दाना, उपकरण तथा सवारी साधनमार्फत सजिलै फैलिन सक्छ। पछिल्लो समय देशका केही स्थानमा रहेका कुखुरा फार्ममा H9 भाइरसको संक्रमण देखिन थालेको प्रारम्भिक जानकारी प्राप्त भएको विभागले जनाएको छ। केही क्षेत्रमा कुखुरा बिरामी पर्ने र मर्ने घटनामा समेत वृद्धि भएको बताइएको छ।
H9 प्रकारको बर्ड फ्लु अत्यधिक घातक नभए पनि यसले कुखुराको उत्पादनमा असर पार्न सक्छ। संक्रमण भएका कुखुरामा अण्डा उत्पादन घट्ने, वृद्धि दर कम हुने तथा अन्य रोगको जोखिम बढ्ने सम्भावना रहेको पशु स्वास्थ्य विज्ञहरू बताउँछन्। दीर्घकालीन रूपमा यस्तो अवस्थाले कुखुरा उद्योगको उत्पादन र आपूर्ति प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
नेपालमा कुखुरा पालन कृषि अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित भइसकेको छ। हजारौं किसानको आयआर्जन तथा रोजगारी यसै क्षेत्रसँग जोडिएको छ। यदि H9 संक्रमण व्यापक रूपमा फैलियो भने कुखुराको उत्पादन घट्ने, अण्डा आपूर्तिमा असर पर्ने र बजार मूल्यमा उतारचढाव आउन सक्ने विज्ञहरूले बताएका छन्। विशेषगरी साना तथा मध्यम स्तरका किसानहरू यस्तो जोखिमबाट बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
संक्रमण नियन्त्रणका लागि विभागले फार्म स्तरमै कडा जैविक सुरक्षा व्यवस्था लागू गर्न किसानहरूलाई सुझाव दिएको छ। फार्म क्षेत्रमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेश नियन्त्रण गर्ने, प्रवेश गर्ने सवारीलाई निसंक्रमण गर्ने, फार्म प्रवेशद्वारमा फुटबाथ प्रयोग गर्ने तथा फार्मभित्र छुट्टै बुट र पोशाक प्रयोग गर्न आग्रह गरिएको छ। साथै कुकुर, बिरालो, मुसा लगायतका जनावरको प्रवेश रोक्न पनि भनिएको छ।
यसका अतिरिक्त कुखुरा ढुवानी गर्ने सवारी साधनलाई प्रयोगपछि अनिवार्य रूपमा सफाइ र निसंक्रमण गर्नुपर्ने, मृत कुखुराको सुरक्षित व्यवस्थापन गर्नुपर्ने तथा फार्ममा काम गर्ने व्यक्तिलाई एक फार्मबाट अर्को फार्ममा आवतजावत गर्न नदिने व्यवस्था गर्न पनि विभागले सल्लाह दिएको छ।
कुनै फार्ममा अचानक धेरै कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा कार्यालयलाई तुरुन्त जानकारी गराउन विभागले किसानहरूलाई आग्रह गरेको छ। समयमै सूचना प्राप्त भएमा परीक्षण, निगरानी र नियन्त्रण कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने विश्वास विभागले व्यक्त गरेको छ।
कुखुरा पालन व्यवसाय विस्तारसँगै रोग व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा किसान, प्राविधिक र सरकारी निकायबीच समन्वय अपरिहार्य भएको विज्ञहरूले बताएका छन्। नियमित खोप, वैज्ञानिक व्यवस्थापन तथा कडा जैविक सुरक्षा उपाय अपनाउन सकेमा बर्ड फ्लु जस्ता रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने उनीहरूको भनाइ छ।