AgriVet Sanchar

बर्डफ्लु पुष्टि भएपछि मोरङमा कुखुरा तथा सामग्री ओसारपसार बन्द

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–४ मा सञ्चालनमा रहेको एउटा लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासन सतर्क भएको छ। संक्रमण फैलन नदिन नगरपालिकाले तत्कालै उच्च सावधानी अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सूचना जारी गर्दै प्रभावित क्षेत्रमा रोकथामका कडा उपायहरू लागू गरिएको जानकारी दिएका छन्। फार्म आसपासका कुखुराहरूमा पनि समान लक्षण देखिनुका साथै केही मरेको पुष्टि भएपछि जोखिम झनै बढेको जनाइएको छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना तथा कुखुरा पालनसँग सम्बन्धित उपकरणहरूको ओसारपसार अर्को सूचना नआएसम्म पूर्ण रूपमा रोक लगाइएको छ। कुनै पनि कुखुरामा असामान्य व्यवहार, बिरामीपन वा अचानक मृत्यु देखिएमा तुरुन्त वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन अनुरोध गरिएको छ।

कुखुरा पालक किसानहरूलाई फार्ममा अनावश्यक व्यक्तिको आवतजावत रोक्न, साथै प्रवेश र निर्गमन बिन्दुमा चुना, फिनेल, सेनिटाइजर वा साबुन पानीको प्रयोग अनिवार्य गर्न निर्देशन दिइएको छ। सर्वसाधारणलाई पनि बिरामी वा मरेका कुखुरा नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सचेत गराइएको छ।

संक्रमित वा शंकास्पद कुखुराहरूको व्यवस्थापन र नष्ट गर्ने कार्य निर्धारित मापदण्डअनुसार गरिने बताइएको छ। साथै स्थानीय बजार र कुखुरा पसलहरूलाई पनि सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

नगरपालिकाले संक्रमण नियन्त्रणका लागि सम्पूर्ण नगरबासीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै थप जानकारीका लागि पशुपन्छी विकास शाखासँग सम्पर्क गर्न अनुरोध गरेको छ।

बर्डफ्लु एक प्रकारको भाइरसजन्य संक्रामक रोग हो, जसले कुखुरा र अन्य चराचुरुङ्गीलाई असर गर्छ। संक्रमित कुखुराको दिसा, र्‍याल वा सम्पर्कमा आएका वस्तुहरूबाट यो सजिलै फैलिने गर्छ। यसले कुखुरामा उच्च मृत्युदर गराउने भएकाले कुखुरापालन व्यवसायमा ठूलो आर्थिक क्षति पुर्‍याउने गर्दछ। नेपालमा समेत हरेक वर्षजसो यस रोगले कुखुरा व्यवसायलाई प्रभावित पार्दै आएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.