AgriVet Sanchar

फ्लोरा एक्स्पो २०२६: २७ हजार दर्शक र व्यापारमा नयाँ रेकर्ड

-एग्री भेट सञ्चार समाचारदाता

काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको २७औँ फ्लोरा एक्स्पोले दुई दिनमै करिब ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै पुष्प व्यवसायमा उत्साहको लहर सिर्जना गरेको छ। फूल र बिरुवा व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित मेलामा २७ हजार दर्शकले अवलोकन गरेका छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा “स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय” भन्ने मूल नाराका साथ चलिरहेको एक्स्पोमा पहिलो दिन ९ हजार ५०० दर्शक उपस्थित भएका थिए भने कारोबार २१ लाख ५० हजार रुपैयाँ पुगेको छ। दोस्रो दिन दर्शक संख्या १७ हजार ५०० पुगेको छ भने कारोबार २९ लाख ५० हजार रुपैयाँमा पुगेको फ्लोरिकल्चर एसोसिएसन नेपालको कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए।

मेलामा कुल ८३ वटा स्टल राखिएका छन्, जसमा व्यवसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फूड २, ल्याण्डस्केप १, सेल्फी १ र बीवाईडी ईभी कारको १ स्टल समावेश छन्। सहभागी व्यवसायीहरूले आफ्ना फूल र बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धा गराइरहेका छन्।

मेलाका संयोजक रामबहादुर तामाङका अनुसार यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकको उपस्थिती र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ। लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरले विगतमा पनि रक्तदान, नि:शुल्क पिउने पानी वितरण जस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष सीताराम लामिछानेले बताए।

फूल र हरियालीप्रतिको आकर्षण, व्यापार अवसर र सामाजिक सेवाको समिश्रणले यस वर्षको फ्लोरा एक्स्पोलाई विशेष बनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.