AgriVet Sanchar

मोरङमा बर्डफ्लू आतंक : ३३ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने तयारी

मोरङ- जिल्लाको विभिन्न स्थानीय तहमा रहेका कुखुरा फर्ममा बर्डफ्लू संक्रमण देखिन थालेपछि पशु स्वास्थ्य अधिकारीहरू सतर्क बनेका छन्। जिल्लाको उर्लाबारी, सुन्दरहरैंचा, कटहरी र विराटनगर क्षेत्रमा रहेका केही फर्ममा संक्रमण पुष्टि भएको जानकारी सम्बन्धित निकायले दिएको छ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका अनुसार सुन्दरहरैंचा नगरपालिका र उर्लाबारी नगरपालिकाका फर्ममा बर्डफ्लू देखिएको पुष्टि भइसकेको छ। ती प्रभावित फर्ममा रहेका करिब २७ हजार कुखुरा नष्ट गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

त्यसैगरी कटहरी गाउँपालिकाका दुई वटा फर्ममा पनि संक्रमण फेला परेको जनाइएको छ। तीमध्ये एक फर्ममा हाल कुखुरा नरहेको र अर्को फर्मको अवस्था सम्बन्धमा थप अध्ययन भइरहेको बताइएको छ।

विराटनगर महानगरपालिका–४ मा रहेको अर्को एक फर्ममा समेत बर्डफ्लू पुष्टि भएको छ। उक्त फर्ममा करिब ६ हजार कुखुरा रहेको जनाइएको छ। यससँगै संक्रमण पुष्टि भएका फर्महरूमा मात्रै होइन, जिल्लाका अन्य स्थानबाट समेत नमूना संकलन गरेर परीक्षण गर्ने काम जारी रहेको सम्बन्धित कार्यालयले जनाएको छ।

अधिकारीहरूका अनुसार संक्रमण देखिएका फर्मका सबै पन्छी नष्ट गरिनेछ। त्यसबाहेक ती फर्ममा उत्पादन र ओसारपसार तत्काल रोक्ने, निश्चित परिधि तोकेर क्षेत्र सिल गर्ने तथा थप फैलावट रोक्न विशेष सतर्कता अपनाउने काम भइरहेको छ।

बर्डफ्लू पन्छीबाट मानिसमा पनि सर्न सक्ने जोखिम रहने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। अस्वस्थ वा शंकास्पद कुखुरा तथा अन्य पन्छीको मासु उपभोग नगर्न र मासु खानै परे राम्रोसँग पकाएर मात्र प्रयोग गर्न सुझाव दिइएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.