AgriVet Sanchar

बर्ड फ्लुको जोखिम: भारतबाट अवैध चल्ला र अन्डा भित्र्याउने क्रम रोक्न कडा निगरानी

नेपालगन्ज ।बाँकेको नेपालगन्जसहित आसपासका क्षेत्रमा बर्ड फ्लुको सम्भावित जोखिम देखिएपछि उच्च सतर्कता अपनाइएको छ।

जिल्लासँग जोडिएका सीमा नाकाबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेका कुखुराका चल्ला दैनिकजसो नियन्त्रण गरी नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा. हरेराम यादवले जानकारी दिनुभयो।

उनका अनुसार हालसम्म जिल्लामा बर्ड फ्लु पुष्टि नभए पनि जोखिमलाई मध्यनजर गर्दै कुखुराका चल्ला र सेता अण्डाको आयातमा रोक लगाइएको छ। खुला सीमाको फाइदा उठाउँदै केही व्यक्तिले चल्ला र अण्डा ल्याउने प्रयास गर्ने गरे पनि सुरक्षाकर्मी देखेपछि सामग्री छाडेर भाग्ने गरेको उहाँले बताउनुभयो।

सरकारले भारतबाट कुखुराका चल्ला तथा सेता अण्डा नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ। यसलाई कार्यान्वयन गर्न आन्तरिक ढुवानी र आयात–निर्यातमा समेत कडाइ गरिएको डा. यादवले उल्लेख गर्नुभयो।

पशु क्वारेन्टाइन कार्यालयका अनुसार जिल्लामा दैनिक रूपमा करिब २० देखि २५ वटा भारतीय ब्रोइलर कुखुरा नष्ट गरिँदै आएको छ। विभागबाट प्राप्त निर्देशनअनुसार उच्च सतर्कता अपनाइएको उहाँको भनाइ छ।

तराईका खुला सीमा भएका जिल्लामा बर्ड फ्लुको जोखिम उच्च रहने भएकाले निगरानी थप कडा बनाइएको छ। साथै, कार्यालयले जनचेतनामूलक कार्यक्रम पनि नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगन्जका वरिष्ठ पशु विकास अधिकृत डा. गणेशबहादुर पुनले पनि चल्ला आयातमा विशेष सावधानी अपनाइएको जानकारी दिनुभयो। जिल्लामा सुइया, बगौँडा, खडैँचा र जमुनाहलगायत खुला सीमानाका रहेका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.