नेपालमा कृषिलाई व्यावसायिक बनाउने चर्चा नयाँ होइन, तर अहिले यसको आवश्यकता झन् तीव्र रूपमा महसुस हुन थालेको छ। उत्पादन बढाउन मल, उन्नत बीउ र प्रविधि उपलब्ध भए पनि सिँचाइ व्यवस्थापन अझै पनि प्रमुख चुनौतीकै रूपमा रहेको छ। अनुसन्धान संस्थान र विश्वविद्यालयहरूले वर्षौँदेखि कृषिमा विभिन्न अध्ययन गरिरहेका छन्, तर ती अनुसन्धानका निष्कर्ष व्यवहारमा नउत्रिँदा किसानले त्यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्।
यही अवस्थामा चितवनको भरतपुर–१६, विजयनगरका प्रा.डा. ईश्वर भगवानदास मानन्धरले भने फरक बाटो रोजेका छन्। लामो समयसम्म कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत विभिन्न क्याम्पसमा प्राध्यापन गरेका उनी अवकाशपछि आराम गर्ने बाटो रोजेनन्, बरु आफूले विकास गरेको सिँचाइ प्रविधिलाई व्यवहारमै लागू गर्न खेतमै ओर्लिए।
उनले विकास गरेको ‘काचाल्का सिँचाइ प्रविधि’ अहिले उनको आफ्नै खेतमा प्रयोग भइरहेको छ। पहिलो नजरमा हेर्दा यो साधारण सतह सिँचाइ जस्तो देखिए पनि यसको संरचना र कार्यप्रणाली निकै व्यवस्थित र वैज्ञानिक छ। परम्परागत रूपमा ट्याङ्की वा ड्रमबाट सिँचाइ गर्दा पानी धेरै खेर जाने समस्या हुन्छ, तर काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा पानी उपलब्ध गराउँदै पानीको बचत गर्न मद्दत गर्छ।
मानन्धरले आफ्नै जग्गामा सुन कागती खेती गर्दै यही प्रविधिबाट सिँचाइ गरिरहेका छन्। सिँचाइका लागि जमिनभन्दा केही उचाइमा ट्याङ्की राखिएको छ, जहाँबाट पाइप र भल्भको सहायताले पानी विभिन्न स्थानमा पुर्याइन्छ। खेतको चार कठ्ठा जमिनमा विभिन्न स्थानमा साना–साना डब्बा जडान गरिएको छ, जसमा पानी भरिँदै जाँदा अर्को डब्बातर्फ बग्ने व्यवस्था मिलाइएको छ। यसरी थोपा–थोपा सिँचाइ हुँदा पानी खेर जाँदैन र बिरुवाले आवश्यक मात्र पानी सहजै पाउँछ।
काचाल्का भन्ने शब्द रूसी भाषाबाट आएको हो, जसले सानो ट्याङ्की वा चेम्बरको अर्थ दिन्छ। यसले मुख्य स्रोतबाट आएको पानीलाई सङ्कलन गरेर आवश्यकता अनुसार वितरण गर्ने काम गर्छ। यो टिन, ढुङ्गा, माटो वा कंक्रिटबाट समेत बनाउन सकिन्छ, जसले गर्दा स्थानीय स्तरमै सजिलै निर्माण गर्न सकिने हुन्छ।
यो प्रविधिको सुरुवात भने नयाँ होइन। मानन्धरले सन् १९९३ मा विद्यावारिधी गर्ने क्रममा यसको विकास गरेका थिए र पछि विदेशमा समेत यसको सफल परीक्षण गरिएको थियो। तर नेपालमा भने यो प्रविधि लामो समयसम्म प्रयोगमा आउन सकेन। विद्यार्थीलाई पढाउँदा समेत यसलाई व्यवहारमा कसैले लागू नगरेपछि उनी आफैँ फिल्डमा ओर्लिन बाध्य भएको बताउँछन्।
अहिले उनी किसानसम्म यो प्रविधि पुर्याउने अभियानमा छन्। उनका अनुसार काचाल्का सिँचाइ प्रणाली अन्य आधुनिक प्रणालीहरूको तुलनामा सस्तो, प्रभावकारी र किसानमैत्री छ। यसमा जडान गरिएका उपकरणहरूले खेतको आकार, माटोको बनावट र बालीको आवश्यकता अनुसार पानी वितरण गर्न सकिन्छ। साथै, कुनै समस्या आएमा किसान आफैले मर्मत गर्न सक्ने भएकाले यो प्रविधि अझ व्यवहारिक बनेको छ।
मानन्धरको दाबी छ, यो प्रणालीले करिब ९३ प्रतिशत सिँचाइ दक्षता र ९५ प्रतिशत पानी वितरण समानता हासिल गर्न सक्छ। परम्परागत कुलो प्रणालीको तुलनामा यसले पानीको खपत, श्रम र लागत सबै घटाउँछ।
लामो समयसम्म कक्षाकोठामा सीमित रहेको एउटा अनुसन्धान अहिले खेतमा प्रयोग भइरहेको छ। मानन्धरको प्रयासले एउटा स्पष्ट सन्देश दिएको छ—ज्ञान तब मात्र सार्थक हुन्छ जब त्यो व्यवहारमा प्रयोग हुन्छ। कृषिमा यस्ता व्यवहारिक र सुलभ प्रविधिको विस्तार भएमा नेपाली कृषि प्रणालीमा वास्तविक परिवर्तन सम्भव हुने देखिन्छ।