AgriVet Sanchar

कृषि अनुसन्धानलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी अब डा.श्रीमत श्रेष्ठको काँधमा

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् मा नेतृत्व परिवर्तन भएको छ। परिषद्का नवनियुक्त कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले परिषद्को केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणसँगै परिषद्भित्र नयाँ नेतृत्वप्रति अपेक्षा र कृषि अनुसन्धान क्षेत्रको आगामी दिशाबारे चासो बढेको छ। कृषि क्षेत्रमा देखिएका चुनौती, जलवायु परिवर्तनको असर, उत्पादन लागत वृद्धि तथा आधुनिक प्रविधिको आवश्यकता बीच NARC को नेतृत्वलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी नयाँ नेतृत्वमाथि आएको विश्लेषण गरिएको छ।

यस अवसरमा परिषद्ले निवर्तमान कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाको कार्यकाललाई विशेष रूपमा स्मरण गरेको छ। गत वर्ष कार्यकारी निर्देशक नियुक्त भएका डा. तिम्सिनाले छोटो अवधिमै परिषद्लाई सुधार र रूपान्तरणको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको परिषद्को भनाइ छ।

उनको नेतृत्वमा कृषि अनुसन्धान प्रणालीलाई परिणाममुखी र व्यवहारिक बनाउन विभिन्न नीतिगत तथा संस्थागत सुधारका पहलहरू अघि बढाइएको थियो। परिषद्ले डिजिटल प्रविधिको विस्तार, अनुसन्धान प्रणालीको पुनःसंरचना, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

सीमित स्रोतसाधन र चुनौतीपूर्ण अवस्थाबीच पनि अनुसन्धानलाई किसानमैत्री, प्रतिस्पर्धी र प्रभावकारी बनाउने प्रयासलाई कृषि क्षेत्रले सकारात्मक रूपमा लिएको छ। विशेषगरी स्थानीय उत्पादन वृद्धि, उन्नत बीउ विकास, कृषि प्रविधिको विस्तार तथा जलवायु अनुकूल अनुसन्धानमा डा. तिम्सिनाको कार्यकाल उपलब्धिमूलक रहेको परिषद्का अधिकारीहरूको भनाइ छ।

परिषद्ले निवर्तमान कार्यकारी निर्देशकप्रति आभार व्यक्त गर्दै कृषि अनुसन्धान प्रणालीलाई सुदृढ बनाउन उनले पुर्‍याएको योगदानको उच्च सम्मान गरेको छ।

नवनियुक्त कार्यकारी निर्देशक डा. श्रेष्ठबाट पनि कृषि अनुसन्धानलाई अझ आधुनिक, प्रविधिमैत्री र किसानको आवश्यकतासँग जोड्ने अपेक्षा गरिएको छ। कृषि विज्ञहरूका अनुसार पछिल्लो समय बदलिँदो मौसम, उत्पादन घट्दो अवस्था र कृषि क्षेत्रमा युवाको घट्दो आकर्षणलाई सम्बोधन गर्न NARC ले अनुसन्धान र नवप्रवर्तनमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता छ।

अब नयाँ नेतृत्वले परिषद्लाई कस्तो गति दिन्छ भन्ने विषय कृषि क्षेत्रका लागि चासोको केन्द्र बनेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.