AgriVet Sanchar

पिज्जा–चाउचाउको बढ्दो बजारले बढायो गहुँको माग:खेती गर्ने किसान घट्दै

काठमाडौं -नेपालमा धान र मकैपछि सबैभन्दा धेरै उत्पादन हुने बाली गहुँ हो । ग्रामीण अर्थतन्त्रदेखि खाद्य सुरक्षासम्म यसको ठूलो भूमिका भए पनि पछिल्ला वर्षहरूमा गहुँ खेती चुनौतीमा पर्दै गएको छ । एकातिर उत्पादन बढिरहेको सरकारी तथ्यांक छ भने अर्कातिर किसान भने गहुँ खेतीबाट विस्तारै टाढिँदै गएका छन् ।

पहिले नेपाली भान्सामा गहुँको प्रयोग रोटी, ढिँडो र पुवामा सीमित थियो । अहिले भने बजारको बदलिँदो खानपानसँगै गहुँको प्रयोग निकै फराकिलो बनेको छ । बिस्कुट, चाउचाउ, पाउरोटी, म:म, पास्ता, म्याक्रोनी, पिज्जा र बर्गरजस्ता परिकारमा गहुँ मुख्य कच्चापदार्थ बनेको छ । यसले गर्दा गहुँको माग लगातार बढिरहेको छ ।

नेपालमा वार्षिक करिब २१ लाख टन गहुँ उत्पादन हुने गरे पनि देश अझै पूर्ण रूपमा आत्मनिर्भर बन्न सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै नेपालले २३ हजार ९ सय ६४ टन गहुँ तथा बिउ आयात गरेको छ । यसका लागि १ अर्ब ३ करोडभन्दा बढी रकम विदेशिएको छ । मुख्यतः मैदा मिल, पास्ता तथा चाउचाउ उद्योगहरूले उच्च प्रोटिनयुक्त ‘ड्युरम गहुँ’ आयात गरिरहेका छन्, किनभने यस्तो गहुँ नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु वर्ष गहुँ उत्पादन २.५ प्रतिशतले बढ्ने अनुमान छ । गत वर्ष ६ लाख ८३ हजार ९ सय ७७ हेक्टर क्षेत्रफलमा २० लाख ५६ हजार टन गहुँ उत्पादन भएको थियो । यस वर्ष ६ लाख ८५ हजार ६ सय ८७ हेक्टर क्षेत्रफलबाट २१ लाख ७ हजार २ सय ६ टन उत्पादन हुने अनुमान गरिएको छ । उत्पादकत्व पनि प्रतिहेक्टर ३.०१ टनबाट बढेर ३.०७ टन पुग्ने अपेक्षा गरिएको छ ।

तर, विगत १२ वर्षको तथ्यांक हेर्दा गहुँ खेती हुने क्षेत्रफल भने लगातार घटिरहेको देखिन्छ । आव २०७०/७१ मा ७ लाख ५४ हजार ४ सय ७४ हेक्टरमा हुने गहुँ खेती २०८०/८१ सम्म आइपुग्दा ६ लाख ८१ हजार ८ सय ५१ हेक्टरमा झरेको थियो । अर्थात् एक दशकमा करिब ७२ हजार हेक्टरभन्दा बढी जमिनमा गहुँ खेती गर्न छाडिएको छ ।

उत्पादनमा पनि उतारचढाव देखिन्छ । आव २०७६/७७ मा सबैभन्दा धेरै २१ लाख ८५ हजार २ सय ८९ टन गहुँ उत्पादन भएको थियो । तर २०७२/७३ मा उत्पादन घटेर १७ लाख ३६ हजार ८ सय ४९ टनमा सीमित भएको थियो, जुन १२ वर्षकै न्यून उत्पादन मानिन्छ ।

यद्यपि उत्पादकत्वमा भने उल्लेखनीय सुधार आएको छ । २०५२/५३ मा प्रतिहेक्टर १.४७ टन मात्रै उत्पादन हुने गरेकोमा अहिले यो दर ३ टन नाघिसकेको छ । वैज्ञानिकहरूका अनुसार उन्नत बिउ, आधुनिक प्रविधि र अनुसन्धानको योगदानले यस्तो सुधार सम्भव भएको हो ।

नेपालमै विकसित जिंक र आइरनयुक्त गहुँका नयाँ जातहरूले पनि किसानमा आशा जगाएका छन् । तराईका लागि जिन्कोउ–१, जिन्कोउ–२ र बोर्लक–२०२० तथा पहाडका लागि हिमगंगा, खुमल शक्ति र भेरीगंगा जस्ता जात अहिले लोकप्रिय बन्दै गएका छन् । यी गहुँ उत्पादनशील मात्र नभई पोषणयुक्त पनि भएकाले बजारमा माग बढ्दै गएको वैज्ञानिकहरूको भनाइ छ ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक नारायण खत्रीका अनुसार नेपाल गहुँको बिउमा झण्डै आत्मनिर्भर भइसकेको छ । देशका ९४ प्रतिशतभन्दा बढी किसानले स्वदेशमै विकसित उन्नत बिउ प्रयोग गरिरहेका छन् । तर, उनले किसानले समयमा मल र बिउ नपाउनु ठूलो समस्या बनेको बताए ।

गहुँ खेतीमा रोग र जलवायु परिवर्तनले पनि असर पारेको छ । पहिला पहाडमा मात्रै देखिने पहेँलो सिन्दुरे रोग अहिले तराईसम्म फैलिन थालेको छ । त्यस्तै हिउँदमा पानी नपर्ने र बाली काट्ने बेला असिना तथा वर्षा हुने समस्याले किसानलाई हरेक वर्ष नोक्सानी बेहोर्न बाध्य बनाइरहेको छ । सिँचाइ अभाव, उत्पादन कम हुनु, खेती गर्न झन्झट हुनु र बजारमा अन्य नगदे बालीको आकर्षण बढेकाले किसान गहुँ खेतीबाट टाढिँदै गएको उनको भनाइ छ । विशेषगरी तोरीको मूल्य बढेपछि धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् ।

उनका अनुसार मानिसहरूले सिधै गहुँको रोटी कम खाए पनि गहुँकै परिकार भने दैनिक उपभोग गरिरहेका छन् । पिज्जा, बर्गर, पाउरोटी, चाउचाउ र म:मको बढ्दो प्रयोगले गहुँको माग निरन्तर बढाइरहेको छ । तर उत्पादन क्षेत्र घटेकाले नेपाललाई आयातमा निर्भर हुनुपरेको छ ।

भन्सार विभागको तथ्यांकले पनि गहुँ आयातमा ठूलो उतारचढाव देखाउँछ । आव २०७७/७८ मा ९७ हजार ६९ टन गहुँ आयात भएको थियो भने २०७८/७९ मा यो बढेर १ लाख ९१ हजार ५ सय ८५ टन पुगेको थियो । त्यसपछि आयात लगातार घट्दै २०८१/८२ मा जम्मा २ टनमा सीमित भएको थियो । तर चालु वर्षमा भने फेरि आयात बढ्न थालेको छ ।

विशेषज्ञहरूका अनुसार उत्पादन बढाउन सिँचाइ सुविधा विस्तार, समयमा मल र उन्नत बिउ उपलब्धता, कृषि यन्त्र प्रयोगमा सहुलियत तथा सन्तुलित मल प्रयोगमा सरकारले विशेष ध्यान दिन आवश्यक छ । नभए बढ्दो मागका बीच नेपाल गहुँमा अझै धेरै वर्ष आयातमै निर्भर रहने अवस्था कायम रहने उनीहरूको चेतावनी छ ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.