काठमाडौं:वैशाख १८, बल्खु । नेपाल भेटेरिनरी एसोसिएसनले सुकुम्बासी बस्तीमा रहेका असहाय पशुहरूको उद्धार तथा उपचार अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा शनिबार काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा पुगेको चिकित्सक टोलीले घाइते तथा बिरामी कुकुर र बिरालोलाई स्थलमै प्राथमिक उपचार प्रदान गरेको छ।
एसोसिएसनका अध्यक्ष डा. केदार सुबेदीको नेतृत्वमा खटिएको टोलीले बस्तीमै पुगेर सेवा उपलब्ध गराएको हो। उक्त कार्यक्रममा नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष डा. मनोज कुमार शाही, एसोसिएसनका सचिव डा. विशाल पोखरेलसहित वरिष्ठ पशु चिकित्सकहरू डा. हरि दाहाल, डा. आभास पौडेल, डा. कमलेश्वर भाट,डा. विकास बोहरा र डा. सुशील रायलगायतको सक्रिय सहभागिता रहेको थियो।

यसैबीच, All For Paws Service ले भने अभियानको सुरुवाती चरणदेखि नै विभिन्न सुकुम्बासी बस्तीहरूमा निरन्तर रूपमा उद्धार तथा उपचार कार्य गर्दै आएको जनाएको छ। युवा भेटेरिनरी चिकित्सकहरू डा. गेहेन्द्र बुढा थापा, डा. सिजन तिमिल्सिना, डा. सागर पोखरेल लगायत चिकित्सक तथा विद्यार्थीहरूको नेतृत्वमा उक्त संस्थाले प्रभावित क्षेत्रमा सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको छ।
अभियानअन्तर्गत घाइते, रोगग्रस्त तथा कमजोर अवस्थामा रहेका पशुहरूलाई तत्काल उपचार उपलब्ध गराइएको एसोसिएसनले जनाएको छ। साथै, ती पशुहरूको दीर्घकालीन संरक्षण, व्यवस्थापन र सुरक्षित बसोबास सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने तयारी समेत अघि बढाइएको छ।
एसोसिएसनका अनुसार यस्तो अभियानले सुकुम्बासी बस्तीमा रहेका असहाय तथा बेवारिसे पशुहरूको संरक्षण, स्वास्थ्य सुधार तथा समग्र पशु कल्याणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


