तनहुँ, तनहुँ जिल्लामा पछिल्ला नौ वर्षको अवधिमा वन्यजन्तुसँगको द्वन्द्वका घटनामा १७ जना बालबालिकाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७४ देखि २०८२ सम्म जिल्लाभर मानव–वन्यजन्तु द्वन्द्वका ३८ वटा घटना दर्ता भएका छन्, जसमा थप २१ जना स्थानीय घाइते भएका छन्।
तथ्यांकअनुसार बन्दीपुर गाउँपालिका सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएको छ। यहाँ भएका ११ घटनामध्ये सात जना बालबालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
त्यसैगरी, भानु नगरपालिकामा १४ वटा घटना हुँदा पाँच जनाको मृत्यु र नौ जना घाइते भएका छन्। व्यास नगरपालिकामा भएका छ घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन्।
शुक्लागण्डकी नगरपालिकामा तीन घटनामा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन्। आँबुखैरेनी गाउँपालिकामा तीन घटनामा एक जनाको मृत्यु तथा दुई जना घाइते भएका छन् भने म्याग्दे गाउँपालिकामा एक घटनामा एक जना घाइते भएको तथ्यांकले देखाएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी तथा वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार अधिकांश मानवीय क्षति चितुवाको आक्रमणबाट भएको हो। केही घटनामा भालु र बाँदरको आक्रमणसमेत भए पनि ती घटनामा मृत्युको संख्या न्यून रहेको जनाइएको छ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, मगर गोही, अजिङ्गर र गौरीगाईको आक्रमणबाट क्षति पुगेमा पीडित वा हकवालाले ३५ दिनभित्र सम्बन्धित निकायमा राहतका लागि निवेदन दिनुपर्ने व्यवस्था छ।
निर्देशिकाअनुसार सामान्य घाइतेलाई औषधि उपचारका लागि अधिकतम २० हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ। गम्भीर घाइतेका हकमा दुई लाख रुपैयाँसम्म राहत दिइने व्यवस्था रहेको छ। यदि उपचार खर्च सोभन्दा बढी लागेमा सरकारी अस्पतालमा उपचार गराई अस्पतालको सिफारिसका आधारमा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने प्रावधान छ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार वन्यजन्तुको आक्रमणबाट अङ्गभङ्ग भई जीवनभरका लागि गम्भीर शारीरिक अशक्त हुने व्यक्तिलाई जीविकोपार्जनका लागि एकमुष्ट पाँच लाख रुपैयाँ राहत प्रदान गरिन्छ। यस्तै, घटनामा मृत्यु भएमा मृतकका आश्रित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने व्यवस्था छ।
उनले गम्भीर घाइते उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र सोही कारणले मृत्यु भएमा वा उपचारकै क्रममा अस्पतालमा निधन भएमा उपचार खर्चका साथै मृतकका नजिकका हकवालालाई १० लाख रुपैयाँ राहत प्रदान गरिने जानकारी दिए।
डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भने तनहुँमा वन्यजन्तुको आक्रमणबाट कुनै मानवीय क्षतिको घटना दर्ता भएको छैन।