सुकुमवासी बस्तीहरूमा यतिबेला मानवीय करुणा र सहभावको प्रेरणादायी दृश्य देखिन थालेको छ। आश्रित कुकुर, बिरालोलगायत पशुप्राणीको संरक्षण र उद्धारका लागि विभिन्न व्यक्ति तथा संघ–संस्थाहरू स्वतःस्फूर्त रूपमा सक्रिय भएका छन्। बिहानैदेखि उनीहरू भोक, रोग र असुरक्षामा रहेका जनावरलाई खाना खुवाउने, उपचार गर्ने र सुरक्षित स्थानमा सार्ने कार्यमा जुटेका छन्।
घरमै पकाएर ल्याइएको खाना खुवाउनेदेखि लिएर जोखिममा रहेका पशुप्राणीलाई सुरक्षित स्थानान्तरण गर्ने कामसम्म व्यवस्थित रूपमा भइरहेको छ। पशु कल्याणमा सक्रिय समूहहरूबीच राम्रो समन्वय देखिएको छ, जसले उद्धार कार्यलाई थप प्रभावकारी बनाएको छ।
स्नेहा केयर्सकी स्नेहा श्रेष्ठका अनुसार बस्तीमा रहेका धेरै कुकुरहरू सुत्केरी, घाइते तथा बिरामी अवस्थामा छन्। ती कुकुरलाई आवश्यक उपचारसहित उचित स्याहार र व्यवस्थापन गरिँदै आएको छ। विशेषगरी घाइते र सुत्केरी कुकुरलाई शेल्टरमा सारेर संरक्षण गर्ने कामलाई प्राथमिकता दिइएको उनले बताइन्।बस्ती छाड्ने क्रममा आफ्ना पशुप्राणी साथमा लैजान नसक्ने परिवारलाई लक्षित गर्दै अस्थायी आश्रयको व्यवस्था पनि मिलाइएको छ। यस्ता कुकुर र बिरालोलाई करिब एक महिनासम्म सुरक्षित रूपमा राख्ने र पछि मालिकले अनुकूल समयमा फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ।
हाल मनोहरा, थापाथलीलगायत क्षेत्रका सुकुमवासी बस्तीमा रहेका बेवारिसे तथा असुरक्षित पशुप्राणीको उद्धार र उपचार कार्य Sneha’s Care, KAT Centre, Animal Nepal तथा SARA Animal Rescue Center जस्ता संस्थाहरूले गरिरहेका छन्। साथै, इरफान खान, विश्वराम कार्की, तुलाराज राजवंशीलगायत व्यक्तिहरूले पनि व्यक्तिगत रूपमा सक्रिय योगदान दिइरहेका छन्। Department of Livestock Services का महानिर्देशक Dr. Umesh Dahal सहितको टोली पनि सुकुमवासी बस्तीमा पुगेर पशुप्राणीको निरीक्षण तथा व्यवस्थापन कार्यमा खटिएका थिए।
