AgriVet Sanchar

मजदुर संकटबीच आधुनिक मेसिन बन्दै किसानको भरपर्दो सहारा

स्थानीय र संघीय सरकारको एक करोड रुपैयाँभन्दा बढी लगानी, १७६ आधुनिक कृषि उपकरण वितरण; श्रमिक अभाव र बढ्दो लागतको समाधान खोज्दै किसान प्रविधितर्फ आकर्षित

कञ्चनपुर । केही वर्षअघिसम्म बेलौरीका किसानका लागि खेती गर्नु भनेको श्रमिक खोज्ने, महँगो ज्याला तिर्ने र बढ्दो उत्पादन लागतसँग संघर्ष गर्नुजस्तै थियो। खेती गर्ने समयमै मजदुर नपाउने समस्या, बढ्दो खर्च र घट्दो आम्दानीका कारण धेरै किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका थिए। तर अहिले त्यही बेलौरीमा आधुनिक कृषि उपकरणको प्रयोगसँगै खेतको दृश्य फेरिन थालेको छ।

स्थानीय तथा संघीय सरकारको संयुक्त लगानीमा सञ्चालन भएका कृषि यान्त्रिकीकरण कार्यक्रमले किसानलाई प्रविधिसँग जोड्दै खेतीलाई छिटो, सहज र कम लागतमा सम्पन्न गर्ने वातावरण बनाएको छ। यसले किसानमा हराउँदै गएको आत्मविश्वास फेरि जागृत गराएको छ।

बेलौरी नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ८४ लाख रुपैयाँ बराबरका १७६ थान आधुनिक कृषि उपकरण कृषक, कृषक समूह तथा कृषि फर्मलाई वितरण गरेको छ। यस कार्यक्रमका लागि नगरपालिकाले ४२ लाख रुपैयाँ विनियोजन गरेको थियो भने बाँकी रकम लाभग्राही किसानले साझेदारी गरेका छन्।

वितरण गरिएका उपकरणमा पावर टिलर, मिनी टिलर, रोटाभेटर, कल्टिभेटर, पम्पसेट, चारचक्के पावर टिलर, रिपर, कम्बाइन मिल, लेजर ल्यान्ड लेभलर, पावर स्प्रेयर, ट्रेन्चरलगायतका आधुनिक कृषि सामग्री समावेश छन्। यी उपकरणले खेत तयारीदेखि रोपाइँ, गोडमेल, सिँचाइ र बाली भित्र्याउनेसम्मका अधिकांश कामलाई सहज बनाउने अपेक्षा गरिएको छ।

यसैबीच राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, कञ्चनपुरले बेलौरी नगरपालिका–२ टेडुवामा धानको चक्लाबन्दी विकास कार्यक्रम सञ्चालन गर्दै करिब १७ लाख रुपैयाँ बराबरका कृषि यन्त्र, सिँचाइ सामग्री र उत्पादन सामग्री उपलब्ध गराएको छ। सम्झौता बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममार्फत १५ हेक्टर क्षेत्रफलमा गुणस्तरीय धानको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ।

स्थानीय सरकारको कृषि यान्त्रिकीकरण अभियान र संघीय सरकारको बीउ उत्पादन कार्यक्रम एउटै उद्देश्यमा केन्द्रित भएपछि बेलौरीमा आधुनिक कृषि प्रणालीले थप गति लिएको कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

बेलौरी नगरपालिकाका कृषि विकास शाखा प्रमुख सुमनराज जोशीका अनुसार कृषि क्षेत्रमा अहिले सबैभन्दा ठूलो चुनौती श्रमिक अभाव हो। उनका अनुसार खेती गर्ने मुख्य समयमा मजदुर नपाउने र उपलब्ध भए पनि अत्यधिक ज्याला तिर्नुपर्ने अवस्थाले किसानलाई समस्यामा पारेको छ। आधुनिक उपकरणको प्रयोगले समयमै खेती सम्पन्न हुनुका साथै उत्पादन लागत घट्ने र व्यावसायिक कृषि विस्तारमा समेत टेवा पुग्ने उनले बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, कञ्चनपुरका प्रमुख गोविन्दराज जोशीले चक्लाबन्दी प्रणालीले गुणस्तरीय बीउ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। एउटै क्षेत्रमा एउटै जातको धान वैज्ञानिक व्यवस्थापनका साथ उत्पादन गर्दा आधुनिक उपकरणको प्रभावकारी प्रयोग गर्न सकिने, लागत घट्ने र उत्पादनको गुणस्तरमा सुधार आउने उनको भनाइ छ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले कृषि स्थानीय अर्थतन्त्रको प्रमुख आधार भएकाले यान्त्रिकीकरणमा निरन्तर लगानी गरिरहेको बताए। किसानको मेहनतलाई आधुनिक प्रविधिसँग जोड्न सके उत्पादन र आम्दानी दुवै बढ्ने उल्लेख गर्दै उनले आगामी वर्षहरूमा पनि कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने बताए।

अनुदानमा आधुनिक उपकरण प्राप्त गरेका किसानहरू पनि यस कार्यक्रमबाट उत्साहित देखिएका छन्। बेलौरी–२ की किसान सुनकुमारी चौधरीले पहिले रोपाइँको समयमा मजदुर खोज्दै हिँड्नुपर्ने र ठूलो खर्च व्यहोर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले मेसिनको प्रयोगले समय र खर्च दुवै बचत भएको बताइन्। आधुनिक उपकरणले महिलालाई समेत सहज रूपमा व्यावसायिक खेती गर्न प्रेरित गरेको उनको अनुभव छ।

बीउ उत्पादन समूहका संयोजक शङ्कर चौधरीका अनुसार चक्लाबन्दी प्रणालीले खेती गर्ने शैली नै परिवर्तन गरिदिएको छ। एउटै व्यवस्थापनमा आधुनिक उपकरण प्रयोग गर्दा छोटो समयमा धेरै काम सम्पन्न हुने, लागत घट्ने र उत्पादनमा समेत सुधार आएको उनले बताए।

बेलौरी–४ की किसान कलावती जैसीले आधुनिक उपकरण पाएपछि खेतीप्रतिको दृष्टिकोण नै परिवर्तन भएको बताइन्। पहिले खेती घाटाको व्यवसायजस्तो लागे पनि अहिले प्रविधिको प्रयोगले उत्पादन बढ्ने र समय बच्ने विश्वास पलाएको उनको भनाइ छ।

यस्तै, बेलौरी–८ की किसान रमिता रानाले कृषि यान्त्रिकीकरणले महिलाको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्। पहिले धेरै कामका लागि अरूमाथि निर्भर हुनुपर्ने अवस्था रहे पनि अहिले अधिकांश काम आफैँ गर्न सकिने भएकाले महिलामा खेतीप्रतिको आत्मविश्वास बढेको उनले बताइन्।

बेलौरी–९ का किसान सुरेन्द्रप्रसाद भट्टले श्रमिक अभावका कारण खेतीमा हुने ढिलाइ र उत्पादनमा पर्ने असर आधुनिक उपकरणले धेरै हदसम्म कम गरेको बताए। यस्तै, किसान प्रेमबहादुर चौधरीले यस्ता कार्यक्रमलाई एकपटकको अनुदानमा सीमित नगरी निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिए।

स्थानीय अग्रणी किसान आसरेराम वडायकका अनुसार अहिले नेपाली कृषि क्षेत्रको सबैभन्दा ठूलो चुनौती श्रमिक अभाव, बढ्दो उत्पादन लागत र खेतीप्रतिको घट्दो आकर्षण हो। उनका अनुसार कृषि यान्त्रिकीकरण अब विकल्प नभई आवश्यकता बनिसकेको छ। सरकारले यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिन सके बेलौरी मात्रै होइन, देशभरको कृषि क्षेत्रमै उल्लेखनीय परिवर्तन सम्भव हुने उनको विश्वास छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.