AgriVet Sanchar

सीमावर्ती नाकाबाट अवैध चल्ला र मासु भित्रिन रोक्न प्रशासनसँग सहकार्य गर्ने: नेपाल ह्याचरी उद्योग संघको निर्णय

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले सीमावर्ती नाकाबाट भइरहेको अवैध पोल्ट्रीजन्य वस्तुको चोरी तस्करी नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा वैशाख २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्य पोल्ट्री क्षेत्रसँग सम्बन्धित संघ–संस्थासँग सहकार्य गर्दै विभिन्न नाकामा संयुक्त अनुगमन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले अवैध रूपमा नेपाल भित्रिने चल्ला, कुखुरा, तयारी मासु तथा अन्य पोल्ट्रीजन्य वस्तुहरूले स्वदेशी उद्योगलाई गम्भीर असर पारिरहेको निष्कर्ष निकालेको छ। संघका अनुसार यस्ता वस्तुहरू अनियन्त्रित रूपमा भित्रिँदा केवल नेपाली पोल्ट्री व्यवसाय नै संकटमा पर्ने होइन, विभिन्न संक्रामक रोग भित्रिने जोखिमसमेत बढेको छ। साथै राज्यको राजस्वमा समेत ठूलो क्षति पुगिरहेको संघले जनाएको छ।

संघले सीमावर्ती जिल्लाका प्रशासन कार्यालयसँग समन्वय गरी नाकाहरूमा निगरानी बढाउने र अवैध आयातलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्ने निर्णय गरेको जनाएको छ।

पोल्ट्री व्यवसायीहरूका अनुसार पछिल्लो समय बजार अवस्था केही सन्तुलित देखिए पनि अवैध आयात नियन्त्रण हुन नसके स्वदेशी उद्योग धरासायी हुने खतरा बढ्दो छ। उत्पादन लागत वृद्धि, दाना तथा औषधिको मूल्यवृद्धि र बजार अस्थिरताबीच संघर्ष गरिरहेका नेपाली किसान र उद्योगीलाई अवैध कारोबारले थप दबाब सिर्जना गरेको उनीहरूको भनाइ छ।

नेपाल ह्याचरी उद्योग संघले पोल्ट्री क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ। संघले अवैध गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायलाई थप सक्रिय बन्न आग्रह गर्दै स्वस्थ र सुरक्षित पोल्ट्री बजार निर्माणमा सबै पक्षको साथ आवश्यक रहेको उल्लेख गरेको छ।

विशेषज्ञहरूका अनुसार सीमावर्ती क्षेत्रबाट बिना परीक्षण भित्रिने पोल्ट्रीजन्य वस्तुहरूले बर्ड फ्लु लगायतका संक्रामक रोग फैलाउने जोखिम रहन्छ। त्यसैले उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वदेशी उत्पादन संरक्षणका लागि कडा अनुगमन अपरिहार्य भएको सरोकारवालाहरू बताउँछन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.