AgriVet Sanchar

इलाममा बर्ड फ्लु प्रतिबन्ध हटाइयो, पन्छीजन्य वस्तुको ओसारपसार पुनः सञ्चालनमा

इलाम, वैशाख ३० — जिल्ला बर्ड फ्लु नियन्त्रण समिति इलामले पशु तथा पन्छीजन्य पदार्थको ओसारपसारमा यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ। पशु सेवा विभाग हरिहरभवन, ललितपुरमा बसेको बैठकको निर्णय तथा सम्बन्धित निकायहरूको प्राविधिक रायका आधारमा प्रतिबन्ध हटाइएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामद्वारा जारी सूचनाअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको बर्ड फ्लु संक्रमण नियन्त्रणमा आइसकेको, संक्रमित क्षेत्रका पन्छी तथा पन्छीजन्य पदार्थ नष्ट गरी सुरक्षित व्यवस्थापन गरिसकिएको तथा हाल संक्रमण दर घट्दो क्रममा रहेको निष्कर्ष निकालिएको छ।

यससँगै पन्छीपालन व्यवसायलाई सहज र नियमित बनाउन आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसार खुला गरिएको जनाइएको छ। समितिले ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने व्यवस्था लागू गरेको छ। साथै पशु ढुवानी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ।

समितिले संक्रमण पुनः फैलिन नदिन किसान, व्यवसायी तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमित क्षेत्रबाट पन्छी तथा पन्छीजन्य उत्पादनको अवैध ओसारपसार नगर्न, फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेश रोक्न, नियमित निःसंक्रमण गर्न तथा छुट्टै बुट, एप्रोन र फुटबाथ प्रयोग गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, मरेका पन्छीलाई सुरक्षित रूपमा गाड्न, फार्म परिसरमा कुकुर, बिरालो तथा मुसा प्रवेश गर्न नदिन र कामदारहरूले व्यक्तिगत सुरक्षाका उपाय अनिवार्य अपनाउन पनि आग्रह गरिएको छ।

समितिले कुनै क्षेत्रमा अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मर्न थालेमा तत्काल स्थानीय तहको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाममा जानकारी गराउन अनुरोध गरेको छ।

पशु सेवा विभागका अनुसार हाल रोगको जोखिम न्यून देखिए पनि नियमित निगरानी जारी रहनेछ। पुनः संक्रमण देखिएमा तत्काल नियन्त्रणका उपाय लागू गरिने जनाइएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.