चितवन । चितवनका चेपाङ बस्तीहरूमा जंगली च्याउका कारण फेरि दुःखद घटना दोहोरिएको छ। पछिल्ला १६ वर्षमा भएका तीन छुट्टाछुट्टै घटनामा १६ जनाले ज्यान गुमाएका छन्। यसपटक इच्छाकामना गाउँपालिका–१ कुलबाङका एक परिवारका तीन बालबालिकाको मृत्यु भएपछि पुराना पीडादायी घटना फेरि चर्चामा आएका छन्।
कुलबाङका ५५ वर्षीय श्यामबहादुर चेपाङ र उनकी पत्नी पदममायाले पाँच दिनको अन्तरालमा आफ्ना तीनै सन्तान गुमाएका छन्। ९ वर्षीया नमुनाको उपचारअघि नै मृत्यु भयो भने ११ वर्षीय साजन र १३ वर्षीया मनिताको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भयो।
परिवारका अनुसार बालबालिकामा सुरुमा वान्ता र कमजोरी देखिएको थियो। पानीसमेत पच्न नसक्ने अवस्था भएपछि स्थानीयको सहयोगमा अस्पताल पुर्याइएको थियो। तर उपचारका प्रयास सफल हुन सकेनन्।
भरतपुर अस्पतालका चिकित्सकहरूले बालबालिकामा देखिएको अवस्था विषालु च्याउ सेवनसँग मिल्दोजुल्दो रहेको बताएका छन्। घटनाको यकिन कारण पत्ता लगाउन थप परीक्षण भइरहेको अस्पतालले जनाएको छ।
वरिष्ठ चिकित्सकहरूका अनुसार केही जंगली च्याउमा हुने विषाक्त तत्वले सुरुमा कलेजोमा असर गर्छ। त्यसपछि मिर्गौला, स्नायु प्रणाली र रगतमा जटिलता बढ्दै जाँदा अवस्था गम्भीर बन्न सक्छ।
चितवनमा जंगली च्याउका कारण यति ठूलो क्षति पहिलो पटक भने होइन।
वि.सं. २०६७ मा चितवनकै एक चेपाङ परिवारका आठ सदस्यको जंगली च्याउ खाएपछि मृत्यु भएको थियो। परिवारका सबै सदस्य बिरामी परेका थिए। त्यतिबेला सानो उमेरका कारण च्याउ नखाएका सन्सरबहादुर चेपाङ मात्रै बाँचेका थिए। अभिभावक गुमाएपछि उनी आश्रयमा हुर्किए र हालै माध्यमिक शिक्षा पूरा गरेका छन्।
त्यसको दुई वर्षपछि २०६९ मा कविलासको चौकीडाँडामा अर्को परिवारका पाँच जनाको ज्यान गएको थियो। परिवारका दुई साना बालबालिका च्याउ नखाएकाले जोगिएका थिए।
तीनै घटनाको कारण एउटै देखिएको छ—जंगलबाट ल्याइएको जंगली च्याउ।
चेपाङ समुदायका धेरै बस्ती अझै सडक र स्वास्थ्य सेवाको सहज पहुँचभन्दा टाढा छन्। बिरामी परेपछि अस्पतालसम्म पुग्न घण्टौं लाग्ने अवस्था छ। कतिपय ठाउँमा अझै पनि उपचारका लागि पहिले परम्परागत झारफुक वा झाँक्रीको सहारा लिने चलन कायमै छ।
चेपाङ समुदाय परम्परादेखि जंगलमा पाइने कन्दमूल, तरुल, गिट्ठा, भ्याकुर, सिस्नो, टाँकी र च्याउमा निर्भर रहँदै आएको छ। खाद्यान्न अभाव हुने समयमा जंगलकै उपजले गुजारा चलाउने पुरानो अभ्यास अझै कायम छ। तर कुन च्याउ सुरक्षित र कुन विषालु भन्ने छुट्याउन कठिन हुँदा जोखिम दोहोरिने गरेको स्थानीय बताउँछन्।
घटनापछि इच्छाकामना गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै जंगलमा उम्रिने कुनै पनि च्याउ नखान आग्रह गरेको छ। साथै बिरामी परेमा झारफुकमा भर नपरी तुरुन्त स्वास्थ्य संस्थामा पुग्न पनि अनुरोध गरिएको छ।
पछिल्ला १६ वर्षमा एउटै समुदायमा तीन पटक दोहोरिएको यो त्रासदीले दुर्गम भूगोल, गरिबी, खाद्य अभाव र स्वास्थ्य सेवाको सीमित पहुँचको कठोर यथार्थ फेरि एकपटक उजागर गरेको छ। चेपाङ बस्तीमा अहिले एउटै चिन्ता छ—अब यस्ता घटना फेरि दोहोरिन नदिन कसरी सचेतना र सुरक्षा बढाउने।