AgriVet Sanchar

कङ्गोमा इबोला प्रकोप भयावह बन्दै : छिमेकी देशहरू पनि उच्च जोखिममा

विश्व स्वास्थ्य संगठन ले अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाको रूपमा घोषणा गरेको घातक इबोला रोगको नयाँ प्रकोप डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (DRC) मा तीव्र रूपमा फैलिँदै गएको छ। स्वास्थ्यकर्मीहरूले संक्रमण नियन्त्रण गर्ने प्रयास गरिरहे पनि रोगको फैलावट रोक्न कठिन भइरहेको जनाइएको छ।

विश्व स्वास्थ्य संगठन का अनुसार प्रकोपको केन्द्रबिन्दु रहेको डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो मा राष्ट्रिय जोखिम मूल्याङ्कन ‘उच्च’ बाट ‘अत्यन्त उच्च’ मा बढाइएको छ। छिमेकी देशहरू, विशेषगरी युगान्डा, उच्च जोखिममा परेका छन्। युगान्डामा हालसम्म पाँच संक्रमण र एक मृत्यु पुष्टि भइसकेको छ।

पूर्वी कङ्गो मा जारी द्वन्द्व र असुरक्षाका कारण नियन्त्रण प्रयासहरू थप प्रभावित भएका छन्। हालैका दिनमा त्यहाँ रहेका दुई उपचार केन्द्रमा आगजनी गरिएको छ। ती क्षेत्रमा भइरहेको हिंसात्मक द्वन्द्वका कारण एक लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।

विश्व स्वास्थ्य संगठनअफ्रिकाका आपतकालीन प्रतिक्रिया निर्देशक डा. मेरी रोसेलिन बेलिजायरका अनुसार सामाजिक सञ्जालमा फैलिएको गलत सूचना अभियानले स्थानीय समुदायमा भ्रम र अविश्वास फैलाएको छ, जसले केस पहिचान, अनुसन्धान र स्वास्थ्य टोलीको पहुँचलाई कमजोर बनाइरहेको छ।

इबोला संक्रमित वा शंकास्पद मृतकको अन्त्येष्टिसम्बन्धी कडा नियमहरू पनि स्थानीय असन्तोषको कारण बनेका छन्। उत्तर–पूर्वी कङ्गो मा ५० जनाभन्दा बढी सहभागी हुने शोकसभा तथा अन्त्येष्टि कार्यक्रमहरू प्रतिबन्धित गरिएको छ भने स्वास्थ्यकर्मीहरूले गरिने अन्त्येष्टिमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

विश्व स्वास्थ्य संगठन का अनुसार परिवारलाई आफ्ना प्रियजनको अन्त्येष्टिमा सहभागी हुन दिइए पनि शवसँग प्रत्यक्ष सम्पर्क गर्न अनुमति छैन। परिवारका सदस्यलाई सुरक्षा सामग्री उपलब्ध गराइन्छ र शवलाई ब्यागमा राख्ने प्रक्रिया तथा प्रार्थनामा सहभागी हुन दिइन्छ।

लगभग दुई दशकदेखि इबोलाका प्रकोपहरू दोहोरिँदै आए पनि बन्डिबुग्यो भाइरस विरुद्ध अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। स्वास्थ्य संगठन ले दुई प्रकारका एन्टिबडीलाई क्लिनिकल परीक्षणमा प्राथमिकता दिएको छ भने उच्च जोखिममा रहेका सम्पर्क व्यक्तिहरूका लागि एन्टिभाइरल औषधि ओबेलडेसिभिरको परीक्षण पनि जारी छ।

विश्व स्वास्थ्य संगठन ले संक्रमण नियन्त्रणका लागि सम्पर्क ट्रेसिङ, उपचार केन्द्र विस्तार, प्रयोगशाला क्षमता सुदृढीकरण, संक्रमण रोकथाम तथा जोखिम सञ्चारजस्ता गतिविधिहरू तीव्र बनाएको छ। आपतकालीन अवस्थाको व्यवस्थापनका लागि  स्वास्थ्य संगठन ले आफ्नो इमर्जेन्सी कोषबाट करिब ३.९ मिलियन अमेरिकी डलर परिचालन गरेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.