AgriVet Sanchar

गोरुमाथि क्रूर व्यवहार गरेको आरोपमा प्युठानका एक व्यक्ति पक्राउ

प्युठान, असार २२ — गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा प्युठान प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाउँपालिका–१ निवासी ३६ वर्षीय जालिराम थापा मगरलाई पशुपन्छीमाथि क्रूर व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार केही दिनयता सामाजिक सञ्जाल फेसबुक र टिकटकमा सार्वजनिक भएको एक भिडियोमा थापा मगरले आफ्नै खेतबारीमा जोत्ने क्रममा हिँड्न नसकेर बसेको गोरुलाई कुटपिट तथा हिर्काएको देखिएको थियो। भिडियोमा गोरुको नाक र मुख माटोमा गाडेर दुर्व्यवहार गरिएको दृश्य समेत देखिएपछि घटना सार्वजनिक भएको थियो।

उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिनुका साथै पशु अधिकारकर्मी र सर्वसाधारणबाट विरोध भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार थापा मगरविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ अन्तर्गत दफा २९० बमोजिम ‘पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.