AgriVet Sanchar

देशभर रेबिज खोपको चरम अभाव : समयमै खोप नपाउँदा टेकुमा एक जनाको मृत्यु

काठमाडौं । देशभर रेबिजविरुद्धको खोप अभाव चुलिँदै जाँदा एक ४८ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका ती पुरुषलाई केही साताअघि कुकुरले टोकेको भए पनि समयमै रेबिजविरुद्धको खोप नलगाइएकाले संक्रमण फैलिएपछि उनको शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु मा निधन भएको हो।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले पनि जोखिमको गम्भीरता नबुझ्दा समयमै आवश्यक उपचार हुन सकेन। कुकुरको सानो बच्चाले टोकेकाले ठूलो खतरा नहुने ठानेर खोप नलगाइएको बताइएको छ। चिकित्सकहरूका अनुसार रेबिज एकपटक लक्षण देखिएपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप लगाउनु नै यसको एकमात्र प्रभावकारी बचाउ हो।

देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको मौज्दात सकिन थालेपछि बिरामीहरू निजी फार्मेसीबाट महँगो मूल्यमा खोप किन्न बाध्य भएका छन्। जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि दैनिक सयौँ बिरामी काठमाडौं आउने गरेका छन्।

टेकु अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार अहिले अवस्था अत्यन्त जटिल बनेको छ। उनका अनुसार अस्पतालमा कुकुरले टोकेका बिरामीलाई तत्काल दिनुपर्ने खोपसमेत सकिएको छ। उनले यस विषयमा सार्वजनिक रूपमा बोल्न स्वास्थ्य मन्त्रालयबाट दबाब रहेको दाबी गरे।

स्वास्थ्य क्षेत्रका स्रोतहरूका अनुसार केही दिनअघि सञ्चारमाध्यमसँग खोप अभावबारे प्रतिक्रिया दिएका केही अधिकारीलाई मन्त्रालयले स्पष्टीकरण सोध्दै सचेत गराएको थियो। यसले खोप संकटबारे खुला रूपमा बोल्न कर्मचारीहरू हिच्किचाउन थालेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ५०० भन्दा बढी कुकुरले टोकेका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। जिल्ला तहमा खोप अभाव भएपछि अधिकांश बिरामी काठमाडौं धाउन बाध्य छन् भने आर्थिक अवस्था कमजोर भएकाहरू उपचार खर्चकै कारण थप समस्यामा परेका छन्।

खोपको अभाव गहिरिएपछि टेकु अस्पतालले गण्डकी प्रदेश सरकार र काठमाडौं महानगरपालिकासँग समेत खोप उपलब्ध गराइदिन आग्रह गरेको थियो। तर मागअनुसार आपूर्ति हुन नसक्दा अस्पतालले इमर्जेन्सी सेवाबाट दिने दोस्रो डोजसमेत स्थगित गरी बिरामीलाई ओपीडीमार्फत खोप लगाउन अनुरोध गर्न थालेको छ।

चिकित्सकहरूका अनुसार रेबिजबाट बच्न तोकिएको समयमै चार डोज खोपको पूरा मात्रा लिनुपर्छ। एक डोज छुटेमा संक्रमणको जोखिम बढ्न सक्छ। विशेषगरी सडकमा काम गर्ने श्रमिक, डेलिभरी सेवा तथा बाहिर धेरै समय बिताउने व्यक्तिहरू कुकुरको टोकाइको बढी जोखिममा पर्ने भएकाले उनीहरूलाई समयमै खोप उपलब्ध गराउनु आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

रेबिज संक्रमित जनावरको र्‍यालमार्फत सर्ने घातक भाइरल रोग हो। नेपालमा अधिकांश संक्रमण कुकुरको टोकाइबाट हुने गरेको छ। सरकारी तथ्यांकअनुसार हरेक वर्ष ६० हजारभन्दा बढीले सरकारी स्वास्थ्य संस्थाबाट रेबिजविरुद्धको खोप लगाउने गरेका छन् भने निजी क्षेत्रबाट उपचार गराउनेको संख्या पनि उल्लेख्य छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिजजन्य मृत्यु शून्यमा झार्ने लक्ष्य राखेको छ, जसमा नेपाल पनि प्रतिबद्ध छ। तर पछिल्ला वर्षहरूमा कुकुरले टोक्ने घटनासँगै रेबिजको जोखिम बढ्दै गएको स्वास्थ्य मन्त्रालयकै तथ्यांकले देखाउँछ। अनुमानअनुसार नेपालमा प्रत्येक वर्ष एक सयभन्दा बढी मानिसको मृत्यु रेबिजका कारण हुने गरेको छ।

स्वास्थ्य विज्ञहरूले खोप खरिद र वितरणमा देखिएको ढिलाइ तत्काल समाधान नगरे देशभर थप गम्भीर स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.