AgriVet Sanchar

पशु चिकित्सकको सम्मानमा आँच पुगेको भन्दै ‘कमेडी नाईट्स विथ च्याम्पियन्स’ द्वारा क्षमायाचना

काठमाडौं। टेलिभिजन हास्यव्यङ्ग्य कार्यक्रम कमेडी नाईट्स विथ च्याम्पियन्स मा प्रसारित एक संवादलाई लिएर उत्पन्न विवादपछि कार्यक्रम पक्षले नेपाल भेटेरिनरी एशोसिएसनसमक्ष औपचारिक रूपमा दुःख व्यक्त गर्दै भविष्यमा यस्ता विषयमा थप संवेदनशील रहने प्रतिबद्धता जनाएको छ।

यो विवाद कलाकार भरतमणि पौडेलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको क्यारिकेचर प्रस्तुत गर्ने क्रममा प्रयोग गरेको संवादबाट सुरु भएको थियो । कार्यक्रममा उनले, “तपाईं कहाँको डाक्टर हो? तपाईं भेटेरिनरीमा पढेको डाक्टर हो? तपाईंको भेटेरिनरीमा पढेको जस्तो छ क्या बुद्धि…” भन्ने अभिव्यक्ति प्रयोग गरेका थिए। उक्त संवादलाई लिएर नेपाल भेटेरिनरी एशोसिएसनले गम्भीर आपत्ति जनाउँदै कार्यक्रमका सञ्चालक तथा निर्देशक विशाल भण्डारीलाई ध्यानाकर्षण पत्र पठाएको थियो।

(नेपाल भेटेरिनरी एसोसिएसनले कमेडी नाईट्स विथ च्याम्पियन्स लाई पठाएको पत्र)

एशोसिएसनले उक्त संवादले पशु चिकित्सा क्षेत्रमा आबद्ध सम्पूर्ण पेशाकर्मीको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएको छ। ध्यानाकर्षण पत्रमा हास्यव्यङ्ग्य र कलाका नाममा आलोचना वा प्रहसन स्वाभाविक भए पनि एउटा स्थापित, वैज्ञानिक तथा मानव र पशु स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित संवेदनशील पेशालाई नै होच्याउने शैलीमा प्रस्तुत गरिएको अभिव्यक्ति निन्दनीय भएको उल्लेख गरिएको छ।

एशोसिएसनले पशु चिकित्सा पेशाको आफ्नै गरिमा, कठोर परिश्रम र सामाजिक महत्त्व रहेको उल्लेख गर्दै मनोरञ्जनका नाममा त्यस्तो मर्यादित पेशाको मानमर्दन गर्नु कुनै पनि रूपमा स्वीकार्य हुन नसक्ने जनाएको छ। साथै, लोकप्रिय कार्यक्रमका निर्माता तथा सञ्चालकले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै सार्वजनिक रूपमा क्षमा याचना गर्न, आगामी दिनमा यस्ता विषयमा पूर्ण संवेदनशीलता अपनाउन र अन्यथा कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी समेत दिएको थियो।

यसैबीच, कार्यक्रमका सञ्चालक तथा निर्देशक विशाल भण्डारीले नेपाल भेटेरिनरी एशोसिएसनलाई सम्बोधन गर्दै पठाएको स्पष्टीकरण पत्रमार्फत उक्त विषयलाई अत्यन्त गम्भीर र संवेदनशील रूपमा लिएको बताएका छन्।

उनले हास्यव्यङ्ग्य तथा राजनीतिक क्यारिकेचरको मूल उद्देश्य समाजमा विद्यमान समसामयिक घटना, प्रवृत्ति र विषयवस्तुलाई मनोरञ्जनात्मक तथा प्रतीकात्मक शैलीमा प्रस्तुत गर्नु रहेको उल्लेख गर्दै कुनै व्यक्ति, संस्था वा पेशाको गरिमा, प्रतिष्ठा वा सम्मानमा आँच पुर्‍याउने उद्देश्य कार्यक्रमको नरहेको स्पष्ट पारेका छन्।

स्पष्टीकरणमा विशुद्ध मनोरञ्जन र सामाजिक व्यङ्ग्यका लागि तयार गरिएको प्रस्तुति अनपेक्षित रूपमा आफ्नो उद्देश्यभन्दा बाहिर गई कुनै विशेष समुदाय वा पेशाकर्मीको भावनामा चोट पुग्न गएको स्वीकार गरिएको छ। पशु चिकित्सक पेशाको गरिमा, प्रतिष्ठा र पेशागत मर्यादामा आँच पुर्‍याउने, त्यसको अवमूल्यन गर्ने वा उपहास गर्ने कुनै मनसाय नरहेको कार्यक्रम पक्षको दाबी छ।

भण्डारीले प्रयोग गरिएका शब्दावली फरक सन्दर्भमा सिर्जना गरिएको भए पनि त्यसबाट नकारात्मक सन्देश प्रवाह भई पशु चिकित्सक समुदायको आत्मसम्मानमा ठेस पुगेको विषयमा दुःख व्यक्त गरेका छन्। साथै, आगामी दिनमा यस्ता प्रकृतिका विषयमा सामग्री निर्माण, प्रकाशन तथा प्रसारण गर्दा थप सावधानी, संवेदनशीलता र पेशागत मर्यादाको पूर्ण ख्याल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

यस घटनाले मनोरञ्जन र अभिव्यक्ति स्वतन्त्रताको सीमासँगै विभिन्न पेशाप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वबारे बहसलाई पुनः चर्चामा ल्याएको छ। पशु चिकित्सक समुदायले पेशागत गरिमामाथि कुनै पनि प्रकारको टिप्पणी गर्दा जिम्मेवार र संवेदनशील हुनुपर्ने माग राखिरहेको बेला कार्यक्रम पक्षले पनि आफ्नो उद्देश्य अपमान नभएको स्पष्ट गर्दै भविष्यमा यस्ता विवाद दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.