पर्वत — पर्वत जिल्लामा अफ्रिकन स्वाइन फिभर को संक्रमण देखिँदा हालसम्म ४६ वटा बङ्गुर मरेका छन्। रोगको लक्षण देखिएपछि गरिएको प्रारम्भिक परीक्षणमा संक्रमण पुष्टि भएको पशु सेवा कार्यालयले जनाएको छ।
अफ्रिकन स्वाइन फिभर का कारण बङ्गुरहरूमा अचानक मृत्यु हुन थालेपछि किसानमा चिन्ता बढेको छ। विशेष गरी कुश्मा नगरपालिका आसपासका क्षेत्रमा पालिएका बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो देखिने, खाना नखाने तथा अचानक मर्ने जस्ता लक्षण देखिएको बताइएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार संक्रमित देखिएका बङ्गुरबाट नमूना संकलन गरी र्यापिड किटमार्फत परीक्षण गरिएको थियो। उक्त परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार थप पुष्टि गर्न संकलित नमूना केन्द्रीय प्रयोगशाला मा पठाइएको छ। प्रयोगशालाबाट अन्तिम रिपोर्ट आएपछि रोगको अवस्था र नियन्त्रणका थप उपायबारे निर्णय गरिने बताइएको छ।
रोग फैलिन नदिन कार्यालयले प्रभावित क्षेत्रमा निगरानी र अनुगमनलाई कडाइ गरेको छ। साथै किसानलाई बङ्गुरपालन स्थल सफा राख्न र जैविक सुरक्षा उपाय अपनाउन आग्रह गरिएको छ। फार्महरूमा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर वा फर्मालिन प्रयोग गरी निसंक्रमण गर्न तथा बिरामी देखिएका बङ्गुरलाई अन्य स्वस्थ बङ्गुरबाट अलग राख्न सुझाव दिइएको छ।
त्यसैगरी, शंकास्पद अवस्थामा बङ्गुरको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउन पनि आग्रह गरिएको छ। मरेका बङ्गुरलाई खुला स्थानमा फाल्नु नहुने भन्दै गहिरो खाडल खनेर गाड्न वा सुरक्षित रूपमा जलाउनुपर्ने कार्यालयले जनाएको छ।
पशु स्वास्थ्य विज्ञहरूका अनुसार अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक रोग भएकाले सावधानी अपनाउन आवश्यक हुन्छ। घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन, होटल वा भान्साबाट निस्कने फोहर नखुवाउन तथा फार्ममा अनावश्यक आवतजावत रोक्न किसानलाई सुझाव दिइएको छ।
रोगको जोखिम बढ्न सक्ने भएकाले जिल्लाका बङ्गुरपालक किसानलाई सतर्क रहन र कुनै असामान्य लक्षण देखिए तुरुन्त सम्बन्धित कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ।