AgriVet Sanchar

अन्डा बजारमा असन्तुलन:संघले घटायो ,बिचौलियाहरूले बढाए भाउ

३ चैत, काठमाडौं । नेपालीहरूको दैनिक भान्सामा अन्डा अत्यन्तै सामान्य र आवश्यक खाद्य सामग्री हो। बिहानको नास्तादेखि दिउँसोको  खाजासम्म यसको प्रयोग व्यापक छ। तर पछिल्लो समय अन्डाको मूल्यले उपभोक्तालाई निरन्तर दबाबमा पारिरहेको छ। बजारमा एउटा अन्डाको मूल्य २५ देखि ३० रुपैयाँसम्म पुग्नु अब सामान्य जस्तै बनिसकेको छ।

नेपाल लेयर्स कुखुरापालक संघले २९ फागुनदेखि लागू हुने गरी अन्डाको फार्म मूल्य घटाएको घोषणा गरे पनि यसको प्रत्यक्ष लाभ उपभोक्ताले भने पाउन सकेका छैनन्। फार्ममै मूल्य घट्दा पनि बजारमा भने खुद्रा व्यापारीहरूले उल्टै महँगोमा अन्डा बिक्री गरिरहेको देखिन्छ।

संघका अनुसार ११ फागुनको तुलनामा नयाँ मूल्य सूचीअनुसार प्रतिक्रेट अन्डाको मूल्य करिब ४० रुपैयाँसम्म घटाइएको छ। यसअघि एक्सएल अन्डाको मूल्य ४९५ रुपैयाँ, ठूलो अन्डाको ४७५ रुपैयाँ र मिडियम अन्डाको ४४५ रुपैयाँ तोकिएको थियो। हाल भने एक्सएल अन्डा ४५५ रुपैयाँ, ठूलो अन्डा ४४० रुपैयाँ र मिडियम अन्डा ४१० रुपैयाँ कायम गरिएको छ।

संघले चुनावपछिको घट्दो मागका कारण मूल्य घटाइएको जनाएको छ। चुनावअघि भने माग उच्च भएकाले आपूर्ति गर्न कठिन हुँदा मूल्य बढाउनुपरेको तर्क गरिएको थियो। ढुवानी र प्याकेजिङ खर्च करिब १३० रुपैयाँ थप्दा पनि उपभोक्ताले अपेक्षाकृत सस्तो मूल्यमा अन्डा पाउनुपर्ने देखिन्छ। तर वास्तविकता भने यसको ठीक उल्टो छ।

बजारमा किन मूल्य घटेन भन्ने प्रश्नमा खुद्रा व्यापारीहरूले प्रायः एउटै जवाफ दिने गरेका छन्—थोक विक्रेताले नै मूल्य नघटाएकाले आफूहरूले सस्तोमा बेच्न नसकेको उनीहरूको भनाइ छ। नयाँ बानेश्वरका एक व्यापारीका अनुसार हाल मिडियम अन्डाको मूल्य नै प्रतिक्रेट ४७० रुपैयाँसम्म पुगेको छ, जुन संघले तोकेको मूल्यभन्दा धेरै माथि हो। त्यस्तै ठूलो अन्डा ५१० रुपैयाँसम्ममा बिक्री भइरहेको उनी बताउँछन्।

व्यापारीहरूका अनुसार आपूर्तिकर्ताले नै बढेको मूल्यमा अन्डा उपलब्ध गराइरहेका छन्। यद्यपि ठ्याक्कै कति मूल्यमा किनबेच भइरहेको छ भन्ने स्पष्ट जानकारी भने उनीहरू दिन सक्दैनन्। उनीहरूको भनाइमा अन्डाको मूल्य सधैं उतारचढाव भइरहने भएकाले बजार स्थिर रहँदैन।

यस अवस्थाले बजारमा बिचौलियाको प्रभाव र मूल्य नियन्त्रणको कमजोरीलाई स्पष्ट देखाउँछ। उत्पादकबाट उपभोक्तासम्म आइपुग्दा अन्डाले धेरै तह पार गर्नुपर्दा हरेक चरणमा थपिएको मुनाफाले अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको छ।

संघका सचिव मदन पोखरेलले पनि बजारमा बहु–तहको संरचनाका कारण उपभोक्ता ठगिएको स्वीकार गरेका छन्। उनका अनुसार किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था दुवै समस्या एकसाथ देखिएका छन्। संघले मूल्य निर्धारण गरेर सार्वजनिक गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताए।

उनले उदाहरण दिँदै किसानबाट सप्लायरसम्म, त्यहाँबाट डिपो, सब–डिपो हुँदै खुद्रा पसलसम्म पुग्दा ४–५ वटा चरण पार गर्नुपर्ने र प्रत्येक तहमा थपिने मुनाफाले अन्तिम मूल्य बढ्ने बताए। उनका अनुसार अहिलेको लागत अनुसार उपभोक्ताले प्रति अन्डा २२ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने हो।

संघले मूल्य निर्धारण गर्ने काम मात्र गर्न सक्ने र बजारमा त्यसको पालना गराउने जिम्मेवारी सरकारी निकायको भएको पनि उनले स्पष्ट पारे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायतका निकायले अनुगमनलाई प्रभावकारी बनाएर अनियमितता गर्ने व्यापारीमाथि कारबाही गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

समग्रमा, अन्डाको मूल्य घटाइएको घोषणा भए पनि त्यसको लाभ उपभोक्तासम्म नपुग्नु बजार व्यवस्थापनको कमजोरी र बिचौलियाको प्रभावकै परिणाम देखिन्छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.