AgriVet Sanchar

६९ वर्षकी फातूको जन्मदिन : समयलाई जितेकी संसारकै वृद्ध गोरिल्लाको अनौठो जन्म उत्सव

बर्लिन चिडियाखानाको बिहान त्यो दिन केही फरक थियो। हावामा उत्सवको हल्का मिठास थियो, कर्मचारीहरूको अनुहारमा उत्साह झल्किन्थ्यो, र दर्शकहरूका नजर एउटै स्थानमा टिकेका थिए—त्यहाँ, शान्त मुद्रामा बसेको थियो संसारकै सबैभन्दा वृद्ध पाल्तु गोरिल्ला “फातू”

उ ६९ वर्ष पुग्यो। समयले शरीरमा अनेक कथा कोरेको थियो, तर आँखामा अझै जीवनको न्यानोपन बाँकी थियो। त्यस दिन उसका लागि परम्परागत केक थिएन, न त चिनीले भरिएको मिठाई। साटोमा थियो, रंगीन थाल ,रसिला चेरी, पाकेका गोलभेँडा, राताम्मे चुकन्दर र ताजा पालुंगो। उमेरले कमजोर बनाएको शरीरलाई ध्यानमा राखेर बनाइएको त्यो भोज प्रेमले भरिएको उपहार जस्तै देखिन्थ्यो।

दर्शकहरू टाढाबाट हेर्दै मुस्कुराइरहेका थिए। कसैले फोटो खिच्थे, कसैले आफ्ना बालबालिकालाई औँल्याउँदै भनिरहेका थिए—“हेर, यही हो त्यो प्रसिद्ध गोरिल्ला।” तर फातू भने शान्त थियो , मानौँ जन्मदिनको हल्लाभन्दा उ समयको गहिरो मौनता बढी बुझ्थ्यो।

उसको वास्तविक जन्ममिति कसैलाई थाहा छैन। तर हरेक वर्ष अप्रिल १३ आउँदा बर्लिनको चिडियाखानामा  जन्मदिन मनाइन्छ। यो केवल एउटा जनावरको जन्मदिन होइन, यो दीर्घ जीवन, सहनशीलता र समयसँगको यात्राको उत्सव हो।

जङ्गलमा गोरिल्लाहरू प्रायः ३५ देखि ४० वर्षसम्म बाँच्ने गर्छन्। तर सुरक्षित आश्रय, उचित आहार र उपचारले जीवनलाई केही थप वर्ष दिन सक्छ भन्ने प्रमाण बनेको छ । उ केवल जीवित छैन, उ एउटा इतिहास बोकेर बसेको छ।

उसको कथा पश्चिम अफ्रिकाका घना जंगलबाट सुरु भएको थियो। त्यहाँबाट संसारले उसलाई अनौठो मोडहरू हुँदै बर्लिनसम्म ल्यायो। समयसँगै धेरै अनुहार फेरिए, धेरै वर्ष बिते, तर उनी अझै त्यहीँ छन्—पुराना रूखझैँ अडिग, मौन तर गरिमामय।

आज उसका दाँतहरू झरिसकेका छन्, चाल ढिलो भएको छ, सुनाइ पनि पहिले जस्तो छैन। कहिलेकाहीँ उ अलि जिद्दी पनि  छ । तर जसले उसको हेरचाह गर्छन्, उनीहरू भन्छन्—उसको स्वभाव अझै न्यानो छ। उ आफ्ना स्याहारकर्तालाई चिन्छ, उनीहरूसँग अपनत्व देखाउँछ।

सायद यही कारण हो, फातू अब केवल चिडियाखानाको सदस्य मात्र होइन, उ समयको जीवित स्मृति बनेको छ।

६९ वर्षको त्यो जन्मदिनमा, जब उसले एउटा चेरी उठाएर बिस्तारै मुखमा हाल्यो, त्यहाँ उपस्थित धेरैलाई लाग्यो—कहिलेकाहीँ सबैभन्दा सुन्दर उत्सव केकले होइन, लामो यात्राले सजिन्छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.