नेपालगञ्जको बढ्दो गर्मीले मानिस मात्र होइन, चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवनसमेत कठिन बन्दै गएको छ। तापक्रम लगातार उकालो लागिरहँदा पानीका प्राकृतिक स्रोतहरू सुक्न थालेका छन्, जसको प्रत्यक्ष असर खुला वातावरणमा आश्रित जीवजन्तुमा परेको छ।
यही समस्यालाई मध्यनजर गर्दै नेपालगञ्जका केही युवाले चराचुरुङ्गीको जीवन बचाउने उद्देश्यसहित अनौठो अभियान सुरु गरेका छन्। उनीहरूले सडक तथा सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनः प्रयोग गरेर चराचुरुङ्गीका लागि पानी पिउने भाँडो तयार गर्न थालेका हुन्।
स्थानीय युवाहरूको समूहले तयार पारेका ती भाँडाहरू अहिले नेपालगञ्जका विभिन्न रुख तथा हरियाली क्षेत्रमा राखिन थालेका छन्। अभियानमा संलग्न महेश श्रेष्ठका अनुसार बढ्दो गर्मीका कारण चराचुरुङ्गी पानीको खोजीमा भौंतारिन बाध्य भएकाले उनीहरूको सहजताका लागि यो प्रयास थालिएको हो।
अभियानमा जनावर अधिकारकर्मी सुवास साहु र वातावरण अभियन्ता हेमन्तराज काफ्लेले पनि साथ दिएका छन्। काफ्लेका अनुसार चराचुरुङ्गी, जनावर तथा कीराफट्याङ्ग्रा वातावरणीय सन्तुलनका महत्वपूर्ण आधार हुन्। उनीहरूको संरक्षण गर्नु केवल दया देखाउने विषय नभई पारिस्थितिक प्रणाली जोगाउने जिम्मेवारी पनि हो।
उनले पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि र जलस्रोतमा आएको कमीले जीवजन्तुको दैनिक जीवन प्रभावित हुँदै गएको बताए। रुखमा राखिएका पानीका भाँडोमा चराहरू आएर पानी पिइरहेको दृश्यले अभियानको प्रभावकारिता देखाउन थालेको उनको भनाइ छ।
अभियानकर्ताहरूले यो कार्यलाई एकपटकको कार्यक्रममा सीमित नराखी नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएका छन्। प्रत्येक शनिबार चराचुरुङ्गी र अन्य जीवजन्तुका लागि पानीको व्यवस्था गर्ने तथा थप स्थानमा भाँडो राख्ने तयारी भइरहेको जनाइएको छ।
हाल सुर्खेत रोड आसपास केन्द्रित अभियानलाई विस्तार गर्दै राँझा चोकसम्म पुर्याउने लक्ष्य राखिएको छ। स्थानीयवासीले समेत यस प्रयासको खुलेर प्रशंसा गरेका छन्। घर, पसल तथा सार्वजनिक स्थानमा सानो भाँडोमा पानी राखेर चराचुरुङ्गीको जीवन बचाउन सबैले योगदान दिन सक्ने उनीहरूको भनाइ छ।
जलवायु परिवर्तन र बढ्दो तापक्रमको चुनौतीबीच नेपालगञ्जमा सुरु भएको यो अभियानले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। सानो प्रयासले पनि असंख्य जीवको जीवनमा ठूलो राहत दिन सक्ने सन्देश यस अभियानले दिएको छ।