काठमाडौं । पशु–पक्षीको उपचारमा प्रयोग हुँदै आएका Nimesulide, Aceclofenac र Ketoprofen युक्त औषधिहरूमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ। यी औषधिहरू विशेषगरी पशुचिकित्सामा दुखाइ (pain) कम गर्न, सुन्निनु (inflammation) घटाउन तथा ज्वरो (fever) नियन्त्रण गर्न प्रयोग गरिँदै आएका थिए।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले अत्यावश्यक सूचना जारी गर्दै यस्ता औषधिहरूले जनस्वास्थ्य, पशु स्वास्थ्य तथा वातावरणीय सन्तुलनमा गम्भीर नकारात्मक असर पार्न सक्ने ठहर गर्दै प्रतिबन्ध लगाएको जनाएको छ।

विभागका अनुसार औषधि सल्लाहकार समितिको ५८औँ बैठकले उक्त औषधिहरूको प्रयोग बन्द गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उत्पादन, आयात, वितरण तथा ओसारपसारमा पूर्ण रोक लगाउने निर्णय गरिएको हो।
तर बजार व्यवस्थापनलाई ध्यानमा राख्दै हाल मौज्दात रहेका औषधिहरू भने सूचना प्रकाशित भएको मितिले बढीमा ६ महिनासम्म मात्र बिक्री–वितरण गर्न पाइनेछ। त्यसपछि बाँकी रहेका औषधिहरू सम्बन्धित उत्पादक वा आयातकर्तालाई फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।औषधि व्यवस्था विभागले यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सम्बन्धित निकाय तथा सरोकारवालालाई आवश्यक निर्देशन समेत दिएको छ।