AgriVet Sanchar

सरकारी अनुसन्धान केन्द्रमै बर्डफ्लु: करोडौँको परियोजनामा धक्का

परवानीपुर, बारा — केही साताअघि मात्रै राष्ट्रिय पन्छी अनुसन्धानकेन्द्रको फार्मभित्र बिहानैदेखि पन्छीहरूको चिरबिर आवाज गुञ्जिन्थ्यो। अनुसन्धानकर्ताहरू नयाँ प्रजातिका पन्छीको वृद्धि, अण्डा उत्पादन र रोग प्रतिरोधी क्षमतामाथि अध्ययन गरिरहेका थिए। तर आज त्यही फार्म सुनसान छ। हावामा चुना र जलेको दानाको गन्ध मिसिएको छ, अनि खाली खोरहरूभित्र फैलिएको सन्नाटा एउटा ठूलो विपत्तिको साक्षी बनेको छ।

यो केवल एउटा फार्ममा फैलिएको रोगको कथा होइन। यो सरकारी अनुसन्धान प्रणालीभित्रको कमजोरी, जैविक सुरक्षाको लापरबाही र समयमै सतर्कता नअपनाउँदा कसरी करोडौँको परियोजना संकटमा पर्न सक्छ भन्ने चेतावनी पनि हो।

गत चैतको अन्तिम साता फार्मभित्र पालिएका टर्की जातका केही पन्छी अचानक बिरामी परे। सुरुमा सामान्य संक्रमण ठानियो। कर्मचारीहरूले नियमित औषधि र निगरानी गरे, तर अवस्था झन् बिग्रँदै गयो। केही दिनमै अर्को खोरका पन्छीहरू पनि मर्न थाले। अनुसन्धान केन्द्रभित्र त्रास फैलियो।

त्यसपछि गरिएको परीक्षणले पुष्टि गर्‍यो— फार्ममा बर्डफ्लु प्रवेश गरिसकेको थियो।

संक्रमण पुष्टि भएसँगै सरकारी टोलीले ‘कन्ट्रोल जोन’ घोषणा गर्‍यो। त्यसपछि सुरु भयो एउटा पीडादायी प्रक्रिया— अनुसन्धानका लागि वर्षौँदेखि पालिएका पन्छीहरू एक–एक गरेर नष्ट गरिन थाले।

करीब दुई हजार चल्ला, एक हजार दुई सय गिरीराजसहित विभिन्न प्रजातिका कुखुरा, चार सय ५० बट्टाई, ४७ वटा टर्की र ३३ वटा तित्रा मारिए। खोरभित्र रहेका अण्डा फुटाइए। हजारौँ किलो दाना आगोमा जलाइयो। केही कर्मचारीहरूका अनुसार त्यो दृश्य “अनुसन्धान केन्द्रभन्दा युद्धपछिको उजाड शिविर” जस्तो देखिन्थ्यो।

सूचना अधिकारी खमबहादुर प्रजाले करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको स्वीकार गर्नुभयो। तर अनुसन्धानमा संलग्न केही कर्मचारीहरूका अनुसार करिब ५० देखि ५५ लाख रुपैयाँ बराबरको क्षति भएको भनेतापनि  वास्तविक क्षति सरकारी तथ्यांकभन्दा धेरै ठूलो हुन सक्ने बताउँछन्। किनकि नष्ट भएका ती पन्छी केवल व्यवसायिक उत्पादनका लागि होइनन्, भविष्यका अनुसन्धान परियोजनाका आधार थिए।

प्रश्न अहिले यहाँ उठिरहेको छ— यति संवेदनशील अनुसन्धान केन्द्रमा बर्डफ्लु कसरी प्रवेश गर्‍यो ?

स्थानीय स्रोतहरूका अनुसार फार्ममा जैविक सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरिएको थिएन। बाहिरी व्यक्तिको आवतजावत, उपकरणको पर्याप्त डिसइन्फेक्सन नहुनु र खुला व्यवस्थापन शैलीले संक्रमणको जोखिम बढाएको हुन सक्ने आशंका गरिएको छ।

पशु स्वास्थ्य विज्ञहरूका अनुसार बर्डफ्लु एकपटक प्रवेश गरेपछि यसले अत्यन्त तीव्र गतिमा संक्रमण फैलाउँछ। विशेषगरी फरक–फरक प्रजातिका पन्छी एउटै क्षेत्रमा राखिँदा जोखिम झन् बढ्छ।

अहिले केन्द्रमा निर्मलीकरणको काम भइरहेको छ। खोरहरूमा चुना छर्किएको छ, पुराना सामग्री जलाइएको छ, र संक्रमित क्षेत्रलाई सुरक्षित बनाउन आगोको ताप प्रयोग भइरहेको छ। तर अनुसन्धान केन्द्रभित्रको डर अझै मरेको छैन।

परवानीपुरको यो घटना एउटा फार्मको क्षति मात्र होइन, नेपालमा पशुपन्छी अनुसन्धान र खाद्य सुरक्षामाथि उठेको गम्भीर प्रश्न हो। किनकि अनुसन्धानकै केन्द्र सुरक्षित छैन भने, देशभरका व्यवसायिक फार्म कति सुरक्षित छन् भन्ने प्रश्न अझ भयावह रूपमा उभिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.