काठमाडौं । कृषिप्रधान देशका रूपमा चिनिँदै आएको नेपालमा पछिल्ला वर्षहरूमा आधारभूत खाद्यान्नमै परनिर्भरता बढ्दो क्रममा देखिएको छ। विशेषगरी पहाडी तथा हिमाली भेगमा परम्परादेखि उत्पादन हुँदै आएको रैथाने अन्न कोदोमा समेत आत्मनिर्भर हुन नसक्दा मुलुकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै ५१ करोड ४० लाख ५८ हजार रुपैयाँ बराबरको कोदो विदेशबाट आयात गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा १० हजार १९५ मेट्रिक टन कोदो नेपाल भित्रिएको छ। कुनै समय ग्रामीण समुदायको मुख्य खाद्यान्न मानिने र पोषणका हिसाबले अत्यन्त महत्वपूर्ण ठानिने कोदोका लागि नै करोडौँ रुपैयाँ विदेशिनु कृषि क्षेत्रका लागि चिन्ताको विषय बनेको छ।
विशेषगरी पहाडी जिल्लामा कोदोलाई पौष्टिक, स्वास्थ्यवर्द्धक र जलवायु अनुकूल बालीका रूपमा लिइन्छ। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, आइरन र फाइबर पाइने भएकाले यसको महत्व पोषण सुरक्षासँग प्रत्यक्ष जोडिएको छ। खाद्य तथा कृषि संगठन (एफएओ) ले समेत नेपालका हिमाली तथा पहाडी क्षेत्रमा कोदो जलवायु परिवर्तनसँग सामना गर्न सक्ने महत्वपूर्ण बाली भएको उल्लेख गरेको छ।
तर पछिल्लो समय खेतीयोग्य जमिन बाँझिने, गाउँबाट युवाको पलायन बढ्ने, खेतीप्रति घट्दो आकर्षण र बजार व्यवस्थापनको कमजोरीका कारण कोदो उत्पादनमा कमी आउँदै गएको कृषिविज्ञहरू बताउँछन्। परम्परागत खेती प्रणाली कमजोर बन्दै जाँदा स्थानीय उत्पादनले माग धान्न नसकेको देखिएको छ।
कृषि क्षेत्रमा काम गर्ने जानकारहरूका अनुसार कोदोको उत्पादन बढाउन बीउ, प्रविधि, बजारीकरण र किसानलाई प्रोत्साहन एकैसाथ आवश्यक छ। पछिल्ला वर्षहरूमा कोदोको परिकारप्रति शहरी क्षेत्रमा समेत आकर्षण बढ्दै गए पनि उत्पादन विस्तारको गति भने अपेक्षित देखिएको छैन।
नेपालको कुल आयात नै बढ्दो क्रममा रहेको बेला रैथाने अन्नमा समेत विदेश निर्भरता बढ्नुले खाद्य सुरक्षामाथि थप दबाब परेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको कुल आयात १६ खर्ब ९२ अर्ब रुपैयाँ नाघिसकेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
कुनै समय गाउँघरको भान्सामा नियमित पाक्ने कोदो अहिले बजारबाट किनेर ल्याउनुपर्ने अवस्थाले नेपाली कृषि प्रणालीको बदलिँदो चित्र देखाएको छ। विज्ञहरूका अनुसार रैथाने बाली संरक्षण र उत्पादन वृद्धि अब केवल कृषि नीति मात्रै नभई खाद्य आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र जोगाउने मुख्य विषय बनेको छ।