AgriVet Sanchar

खुला सीमाको दुरुपयोग: बाँकेमा ठूलो परिमाणमा कुखुराका चल्ला पक्राउ

नेपालगञ्ज — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित लालापुरुवा क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका कुखुराका चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ। खुला सीमाको फाइदा उठाउँदै भित्र्याइएका ती चल्ला विशेष सूचनाका आधारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार करिब ५ लाख १६ हजार ८०० रुपैयाँ बराबर मूल्यका ५ हजार ४४० वटा चल्ला बरामद गरिएको हो। नियन्त्रणमा लिइएका चल्लालाई आवश्यक प्रक्रिया पूरा गरी पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको थियो। सो कार्यालयका प्रमुख डा. हरेराम यादवका अनुसार स्वास्थ्य तथा जैविक सुरक्षालाई ध्यानमा राख्दै सबै चल्ला नष्ट गरिएको छ।

डा. यादवले कडाइका प्रयासहरू भइरहे पनि नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै बाँके र बर्दियाका विभिन्न नाकाबाट कुखुरा तथा चल्लाको अवैध आयात भइरहेको बताए। यस्ता गतिविधिले पशु स्वास्थ्यमा जोखिम बढाउने मात्र नभई स्थानीय कृषक र व्यवसायीलाई पनि असर पार्ने भएकाले यसप्रति सजग रहनुपर्ने उनले उल्लेख गरे।

उनले अवैध रूपमा पशुपक्षी भित्र्याउनु कानुनविपरीत र दण्डनीय अपराध भएको स्पष्ट पार्दै सम्बन्धित निकाय र सर्वसाधारणलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्। – रासस

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.