AgriVet Sanchar

ढिलो टिपिएका सुन्तलाले बाँसखर्कलाई बनायो सुनखर्क

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले सुन्तला ढिलो टिप्ने रणनीतिबाट उल्लेखनीय फाइदा उठाएका छन्। देशका अन्य क्षेत्रका सुन्तला बजारबाट सकिएपछि मात्र यहाँका किसानले फल बजारमा ल्याउँदा दोब्बरभन्दा बढी मूल्य पाउन सफल भएका छन्।

जहाँ अधिकांश स्थानमा सुन्तला प्रतिकिलो ७०–८० रुपैयाँमा बिक्री भइसकेको थियो, बाँसखर्कमा भने माघपछि मात्रै सुन्तला टिप्न सुरु गरिएको छ। अहिले यहाँको सुन्तला प्रतिकिलो १६० रुपैयाँमा बिक्री भइरहेको छ र मूल्य अझै बढ्ने क्रममा रहेको अग्रणी किसान जगतबहादुर खत्रीले बताए। उनका अनुसार अन्य क्षेत्रको उत्पादन सकिएपछि व्यापारी बाँसखर्कतर्फ आकर्षित भएका हुन्, जसले माघको अन्त्यसम्म मूल्य २०० रुपैयाँ प्रतिकिलो पुग्न सक्ने सम्भावना छ।

पोखरा, काठमाडौँ र चितवनजस्ता शहरका व्यापारीहरू सुन्तला खरिद गर्न बाँसखर्क आइरहेका छन्। समुद्री सतहबाट करिब १,१०० देखि १,९०० मिटर उचाइमा रहेको यो क्षेत्रमा २३९ घरपरिवारमध्ये झन्डै २०० घरपरिवार सुन्तला खेतीमा संलग्न छन्। यहाँका किसानले वार्षिक कम्तीमा पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएका छन्।

बाँसखर्कमा सुन्तला खेतीको इतिहास पाँच दशकभन्दा पुरानो छ। बलबहादुर अर्मजा र बलबहादुर खत्रीले ५३ वर्षअघि सुरु गरेको व्यावसायिक खेती सुरुमा आलोचित भए पनि आज यही खेतीले गाउँलाई आत्मनिर्भर बनाएको छ। बलबहादुर खत्रीका छोरा नरबहादुर खत्रीका अनुसार उनका बुवाले २०३२ सालमा रोपेका बोट अझै फल दिइरहेका छन्, र अहिले परिवारले वार्षिक १० देखि १३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ।

हाल बाँसखर्कमा करिब १,५०० रोपनी क्षेत्रमा ५१ हजारभन्दा बढी सुन्तलाका बोट छन्। यस वर्ष करिब २० करोड रुपैयाँ बराबरको उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष १८ करोड, २०८० सालमा ११ करोड र त्यसअघि १० करोड रुपैयाँ बराबरको उत्पादन भएको थियो। क्षेत्रफल विस्तार, नयाँ बोटको उत्पादन सुरु, राम्रो व्यवस्थापन र अनुकूल मौसमले उत्पादन बढ्न सहयोग गरेको छ।

अहिले थप २४ हजारभन्दा बढी नयाँ बोट हुर्किरहेका छन्, जसले भविष्यमा उत्पादनलाई ४० करोड रुपैयाँसम्म पुर्‍याउने अपेक्षा गरिएको छ। यहाँका किसानले वार्षिक चार लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।

धान, मकै, कोदो र गहुँको विकल्पका रूपमा सुरु भएको सुन्तला खेतीले बाँसको जंगल र पाखालाई फलफूल बगैँचामा परिणत गरेको छ। अहिले बाँसखर्क पर्यटकको आकर्षण पनि बन्दै गएको छ, जहाँ सुन्तला बगैँचा अवलोकनका लागि आगन्तुक पुग्ने गरेका छन्। साथै, अन्नपूर्ण–धवलागिरि पदमार्गको प्रवेशद्वारका रूपमा रहेको क्षेत्रमा होमस्टे सेवा पनि सञ्चालनमा आएका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.